अक्षयकुमारको घरमा जबरजस्ती घुस्ने प्रयासमा २ घण्टासम्म रुखमै लुकेर बसे फ्यान

प्रकाशित मिति:

अक्षय कुमारको घरमा जबरजस्ती घुस्ने प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।बलिउड एक्सन हिरो अक्षय कुमारको घरमा उनी जबरजस्ती घुस्ने प्रयास गरिरहेका थिए । उनी दुई घण्टासम्म घर छेउको एउटा रुखको आडमा लुकेर बसेका थिए । खबरका अनुसार ती युवकलाई जबरजस्ती घरभित्र घुस्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेका छन् ।

अंकित गोस्वामी नाम गरेका ती व्यक्ति अक्षय कुमारलाई भेट्नको लागि हरियाणाबाट आठ हजार रुपैयाँ बोकेर मुम्बई आएका थिए । मंगलबार उनी अक्षयकुमारको घर पुगेका थिए । गार्डले उनलाई भित्र जान नदिएर बाहिरै रोकेको थियो ।त्यसपछि उनी एउटा टेम्पोमाथि चढे र बार नाघेर भित्र घुस्ने प्रयास गरे । नसकेपछि उनी घरछेउकै एक रुखको आडमा दुईघण्टासम्म लुकेर बसिरहे । फेरि उनले राति साढे एक बजे जबरजस्ती घरभित्र घुस्ने प्रयास गरे । तर उनलाई पक्रेर प्रहरीको जिम्मा लगाइयो ।

उनी अक्षयकुमारको घरभित्र घुस्न खोजेको दिन अक्षयकुमार भने घरमा थिएनन् । कामको सिलसिलामा उनी बाहिर गएका थिए ।२० वर्षीय अंकित अक्षयकुमारका ‘क्रेजी फ्यान’ हुन् । उनी अक्षयकुमारलाई भेट्न भनेरै मुम्बई आएका थिए । इन्टरनेटमा खोजेर अक्षकुमारको घरको ठेगाना पत्ता लगाएको अंकितले बताएका छन् ।