‘समर लभ’ ले जोगाउला पुस्तकको साख

प्रकाशित मिति:

केही हप्तायता नेपाली फिल्मको व्यापार पट्यारलाग्दो छ । गएको मंसिरमा आएको फिल्म ‘प्रसाद’ पछि कुनै फिल्मले लगानी सुरक्षित त टाढाको कुरा भित्तामा टाँस्नका लागि तयार पारिएको पोस्टरको पैसा समेत उठाउन सकेका छैनन् । हरेक हप्ता निर्माताको करोडौं डुबिरहेको छ । गत हप्ता मात्र ‘गोपी’, ‘रणवीर’ र ‘सयकडा दश’ का निर्माताको करीब ५ करोडको लगानी बालुवामा पानी पोखे सरह भयो ।

झुर फिल्मका कारण अहिले राम्राु फिल्म हेर्न समेत दर्शक हलसम्म पुग्न छाडिसकेका छन् । अहिले हल सञ्चालक र वितरकले हलमा दर्शक नभएर झिंगा धपाउँदै बस्नु परेको बताउन थालेका छन् । केही हप्तादेखि नेपाली फिल्मका दर्शक कता हराए भन्ने चर्चा भइरहँदा यस हप्ताका लागि प्रतिक्षीत फिल्मको रुपमा हेरिएको ‘समर लभ’ प्रदर्शनमा आएको छ । चर्चित पुस्तक ‘समर लभ’ माथि आधारित भएर बनेको फिल्म हो यो ।

अचेल हरेक हप्ता दुईबढी फिल्मको भिडन्त हुँदै आएको छ । निकै कम फिल्मले मात्र सोलो रिलिज पाउँछन् । अहिले कुनै फिल्मले सोलो रिलिज पाउनु भनेको भगवान भेटे सरह भन्ने गरिन्छ । किनकि, एकल प्रदर्शनमा आउँदा हल संख्या बाँडिन्न र दर्शक विभाजित हुँदैनन्, जसको प्रत्यक्ष प्रभाव फिल्मको कलेक्सनमा पर्दछ । ‘समर लभ’ ले दर्शक तान्न सफल हुन्छरहुँदैनन् तर सोलो रिलिजको अवसर भने पाएको छ । समर लभ’ युवापुस्ताले सर्वाधिक रुचाएको पुस्तक हो । लेखक सुबिन भट्टराईले अतित शर्मा र साया शाक्यको प्रेममा आउने उचारचढावलाई शब्दमार्फत् पुस्तकमा बुनेका थिए । त्यसलाई दृश्यभाषामा निर्देशक मुस्कान ढकालले उतारेका छन् । फिल्ममा पुस्तकका दुई प्रमुख पात्र अतितको भूमिकामा आशिष पिया छन् भने सायाको भूमिका रेवती क्षेत्रीले निभाएकी छन् ।

सुस्मिताको भूमिका अभिनेत्री नम्रता सापकोटाले निर्वाहा गरेकी छन् । किरणको भूमिकामा शिशिर भण्डारी छन् भने लेखकको भूमिका अभिनेता सुरजसिंह ठकुरीले निभाएका छन् । सुबिनको कथामा सामीप्यराज तिमल्सेनाको पटकथा तथा सामिप्य र सुबिनकै संवाद छ । फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता तथा विनोद अधिकारी कार्यकारी निर्माता छन् । स्वपन सरकार र मनोज विक सह–निर्माता छन् । यो फिल्मले मल्टिप्लेक्सहरुमा राम्रो सोज हात पारेको छ भने सिंगल स्कृन पनि पर्याप्प एको छ । पुस्तक सर्वाधिक रुचाइएका कारण यस फिल्मप्रति दर्शकको अपेक्षा धेरै छ । फिल्मलाई पुस्तकको साख जोगाउनु पर्ने सबैभन्दा ठूलो चुनौती छ । चलचित्रकर्मीहरु भने खडेरी लागेको फिल्मको व्यापारलाई ‘समर लभ’ ले केही हदसम्म भए पनि चलायमान बनाउने विश्वासमा छन्