जापानमा देशभर प्राकृतिक विपद घोषणा

प्रकाशित मिति:

श्रावण ९, जापानको मौसम पूर्वानुमान निकायले देशभर प्राकृतिक विपद घोषणा गरेको छ । अत्यधिक गर्मीका कारण ६५ जनाको मृत्यु हुनुका साथै २२ हजारभन्दा बढी मानिस अस्पतालमा भर्ना भएपछि प्राकृतिक विपद घोषणा गरेको हो । सो निकायका प्रवक्ताले केही क्षेत्रमा तापक्रम अझै उच्च स्तरमा गर्मी बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन् । मौसम पूर्वानुमानविद्हरुका अनुसार चर्कंदो तापक्रम घट्ने कुनै संकेत देखिएको छैन । जापानको मौसम पूर्वानुमान निकायले अगष्टको सुरुसम्म नै तापक्रम ३५ डिग्री सेल्सियस वा त्योभन्दा बढी रहनसक्ने भन्दै सावधान गराएको छ । गर्मीका कारण स्कूले बालबालिका सबैभन्दा बढी प्रभावित भएको भन्दै उनीहरुको जीवन रक्षाका लागि आवश्यक उपाय अपनाउने सरकारले जनाएको छ । सरकारी प्रवक्ता योसिहिडे सुगाले आधाभन्दा कम सरकारी विद्यालयहरुमा मात्रै हावा चिसो पार्ने प्रणाली, एअर कन्डिशनर, जडान गरिएको हुनाले विद्यार्थीलाई सुरक्षित राख्नको लागि गर्मीको बिदाको समय लम्बाउने बताउनुभएको छ । सर्वसाधारणहरुलाई गर्मीबाट बच्न प्रशस्त पानी पिउन, हावा चिसो पार्ने प्रणालीको प्रयोग गर्न र गर्मीबाट हुने थकानबाट जोगिन आराम गर्न सुझाव दिइएको बीबीसीले उल्लेख गरेको छ ।