आज श्रीपञ्चमी, सरस्वती पूजा, महिमा सहित हेर्नुहोस्

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल माघ महिनाको २७ गते आइतबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । हेमन्त ऋतु अन्तर्गत माघ शुक्लपक्षको पञ्चमी तिथि विहान १०।२६ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । रेवती नक्षत्र दिवा ४।२२ बजेसम्म रहनेछ । आज साध्य योग र कौलव करण रहेको छ । यसैगरी आज सूर्योदय ६।४७ मा छ भने सूर्यास्त बेलुका ५।५० बजे हुनेछ । चन्द्रमा आज मीन राशिमा छन् । आज श्रीपञ्मी अर्थात् सरस्वती पूजा हो । आज विद्याकी देवी सरस्वतीको विशेष पूजा आराधना हुने गर्दछ । चान्द्रमासको माघशुक्ल पञ्चमी नै श्रीपञ्चमीको दिन हो । जसलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतुको पूर्वसन्ध्या अर्थात् आरम्भको संकेत यस दिनबाट हुने गर्दछ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको उपासना गर्ने विशेष दिनका रूपमा पनि यो दिन प्रसिद्ध छ । यस दिन ब्रह्माजीले आफ्नी मानसपुत्री सरस्वतीको प्रादुर्भाव भएकाले पनि यस दिनलाई ज्ञान र कलाका उपासकले भव्यरूपमा मनाउने गर्दछन् । वसन्त ऋतु आगमनको पूर्वाभाष स्वरूप यस दिन वसन्त महिमा गायन एवं श्रवण गर्ने गरिन्छ । विद्याकी देवी भगवती सरस्वतीको विशेष प्रिय दिन रहेकाले पनि वसन्त पञ्चमीलाई भव्य रूपमा मनाइएको हो । यस दिन विद्या आरम्भ गर्न, नाक कान छेड्नुका साथै विद्यासँग सम्बन्धित कार्यको आरम्भ गर्न उत्तम हुने कुरा ज्योतिष शास्त्रमा पनि वर्णन भएको पाइन्छ । संसार ज्ञनकै आँगनमा अडिएको हुनाले ज्ञान अर्थात् विद्याका उपासक सवैले यस दिन सरस्वतीको विशेष पूजा आराधना गर्ने गर्दछन् । यो परम्परा वेद भन्दा पनि पुरानो रहेको पाइन्छ ।

सरस्वतीको महिमा वेदले पनि सर्वत्र गाएको पाइन्छ । सरस्वती श्रुति महति महीयताम् यजुर्वेद सरस्वी श्रुति अर्थात् वेद भन्दा पनि महान् छिन् , सरस्वती नः सुभगा मयस्करत् ९यजुर्वेद० अर्थात् सरस्वतीले हाम्रो यश कीर्तिलाई बढाउन् भन्ने वैदिक ऋचाबाट पनि सरस्वतीको महिमा कति छ भन्ने कुरा प्रष्टिन आउछ । उपनिषद्, पुराण, देवीभागवत आदिले पनि भगवती सरस्वतीको विशेष महिमा गान गरेका छन् । यसैगरी आद्यशक्ति भगवतीका तिन रूप महाकाली, महालक्ष्मी र महासरस्वती मध्येकी एक सरस्वतीको महिमा अपरम्पार रहेको छ । सत्वगुणमा आश्रित पार्वतीका शरीरबाट प्रकट भएकी शुम्भ नामक दैत्यको संहार गर्ने साक्षात् देवी महासरस्वती हुन्, भनी मार्कण्डेय पुराणले वर्णन गरेको छ । सरस्वती आद्य शक्ति हुन् । उनका अवतार रूप अनेक छन् । ब्रहामा आफ्नी पुत्री सरस्वतीप्रति आशक्त भाव उत्पन्न भयो । यसपछि ब्रह्मालाई आत्मग्लानि भएपछि आफ्नो शरीरलाई त्यही त्यागेकाले उक्त अवस्था अन्धकारका रूपमा व्याप्त भएको हो ९श्रीमद्भागवत, ३।१२।२८–३३० भन्ने कुरा भागवतमा पाइन्छ । मत्स्य पुराणले पनि यस्तै कथा प्रसङ्ग बताएको छ । भगवान् श्रीकृष्णले भगवती सरस्वतीको पूजा गर्ने विधान बताउनु भएका कथा प्रसङ्ग पनि पाइन्छन् । यी सरस्वती भगवतीका अवतार कथा हुन् । वास्तवमा सरस्वती आद्य शक्ति नै हुन् । महाकाली, महालक्ष्मी र माहासरस्वती वास्तवमा एउटै आद्य शक्तिका स्वरूपहरू हुन् । अर्थार्थीले महालक्ष्मीको उपासना गर्दछन् । शक्तिका उपासकले महाकालीको आराधना गर्दछन् भने ज्ञानका उपासक सरस्वतीको आराधना गर्ने गर्दछन् । समस्त विद्या र कलाकी देवी सरस्वती हुन् । सरस्वतीलाई कसैले ब्रह्माकी पुत्री र कसैले ब्रह्माकी पत्नी भन्ने गर्दछन् । वास्तवमा सरस्वती आद्य मातृशक्ति हुन् । सोही शक्तिको अवतारक्रममा ब्रह्माकी मानसपुत्री भएकी हुन् । सरस्वतीका अनेक रूप छन् । कार्य अनुसार सरस्वतीका अनेक अवतार भएका हुन् । उनलाई आद्यस्वरूपाको रूपमा बुझ्नु नै उपयुक्त हुन्छ । वास्तवमा सरस्वती आद्य शक्ति ब्राह्मी नै हुन् । साक्षत् ब्रह्म स्वरूपा भएकाले उनलाई ब्राह्मी भनिएको हो । सरस्वतीको पूजा भनेको विद्याको उपासना गर्नु हो । सरस्वती केवल पुष्प चन्दन अक्षताले मात्र खुशी हुन्नन् । जसले विद्याको साधना गर्छ उसैका मुखमा सरस्वतीको वास हुन्छ । अथक परिश्रम र मेहनत नै सरस्वतीको अर्को नाम हो । भगवतीको पूजा आराधना भनेको नै विद्याको चिन्तन, अध्ययन, मनन र अभ्यास हो । भगवतीको मन्दिरमा गई पूजा गर्नु भनेको अध्ययन तर्फ रुचि जगाउन मनलाई प्रेरित गर्नु हो अर्थात् पवित्र पार्नु हो । जबसम्म हाम्रो मन पवित्र हुन सक्दैन तवसम्म हामी केही पनि गर्न सक्दैनौ अतः वसन्त पञ्चमीका दिन भगवतीको विशेष पूजा आराधना गरी मनलाई शुद्ध बनाउने यत्न गरिन्छ । पवित्र मनले गरेको चिन्तन नै सार्थक हुने भएकाले सरस्वती पवित्रताकी पनि प्रतीक हुन् । जसको आराधनाले जीवन सार्थक हुने गर्दछ । यही नै सरस्वतीको सच्चा पूजा आराधना हो । जय सरस्वती माता ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्