रसुवा र नुवाकोटमा निर्माण हुने माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजना शिलान्यास

प्रकाशित मिति:

रसुवा – रसुवा र नुवाकोटमा निर्माण हुने माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजना शिलान्यास भएको छ। ३७ मेगावाट क्षमताको आयोजनाको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आइतबार शिलान्यास गरेका हुन्। नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा शिलान्यास गर्दै मन्त्री पुनले आयोजनाको निर्माण तोकिएको लागत र समयमा सम्पन्न गर्न निर्देशन दिए। ‘आयोजना निर्माण हुनु मात्रै ठूलो कुरा होइन, उनले भने, ‘यसलाई तोकिएको समयभित्र सक्नु महत्वपूर्ण कुरा हो।’ २०७७ फागुन २९ गतेबाट विद्युत् उत्पादन सुरु गर्ने आयोजनाले लक्ष्य लिएको छ। यसको मुख्य सुरुङ ३ हजार ८ सय मिटर छ। विद्युत् गृह, सर्ज ट्यांक लगायतका संरचनाको काम सुरु गर्न आयोजनाले जानकारी दिएको छ। आयोजनामा विद्युत प्राधिकरण र दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को मुख्य लगानी छ। इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडेलमा आयोजना निर्माण हुनेछ।

यसका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङसँग सम्झौता भइसकेको छ। सम्झौताअनुसार ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण तथा जडान गर्नेछ। रसुवा र नुवाकोटमा निर्माण हुने आयोजना प्राधिकरणले हाल निर्माणाधीन ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए को क्यास्केड हो। आयोजनाको प्रवर्द्धक कम्पनीमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत सेयर स्वामित्व छ। रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ। आयोजना सम्पन्न गर्न ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ खर्च हुने अनुमान छ। रसुवामा १३ वटा जलविद्युत् आयोजना निर्माणाधीन छन्।

नागरीकन्युज वाट साभार