बाग्मती मा बोटिङ शुरु

प्रकाशित मिति:

काठमाडौं – बाग्मती सफाइ महाअभियनको तीन सय साता प्रवेश गरेको अवसरमा शनिबार सफाइ अभियानकर्ताले नदीमा बोटिङ गरेका छन्। मनोहरा दोभानमा शनिबार बोटिङ गर्दै सफाइमा सहभागी विद्यार्थी र अभियान्ताले बाग्मती अपेक्षाकृत सफा भएको सन्देश दिए। कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बाग्मती नदी मृत घोषणा गरिए पनि सफाइ अभियानपछि जीवित भएकाले अहिले बोटिङ गर्न सकिएको बताए। ‘बागमती नदी १० वर्ष अगाडी मृत घोषणा गरिएको थियो,’ उनले भने, ‘सफाइ अभियान थालिएपछि अहिले नदी जीवित भएको छ। अहिले बोटिङ भएको देखिरहेका छौं। बाग्मती नदी पहिचान, जीवन र प्राचीन सम्भायतासँग निकट रहेकाले यसलाई सफाइ गर्नका लागि पहल गर्दै जानुपर्ने उनले बताए। सफाइ अभियान गरे पनि बढ्दो शहरीकरण र चरम उपभोक्तवादी सोचले दिनहुँ फोहोर हुने क्रम जारी रहेको बताउँदै उनदे भने हाम्रो नकारात्मक कार्यले नै हाम्रा नदीलाई आफैंले फोहोर बनाइरहेका छौं। यसमा सचेत भई प्रशोधित पानी मात्रै बाग्मती नदीमा मिसाउनुपर्छ। हामीले आफैंले नदी सफा गर्नुपर्ने बताउँदै मन्त्री ज्ञवालीले भने घरमा ऐना हेरेर रमाउनुभन्दा नदी सफा गरेर नदीलाई नै ऐनाको रुपमा प्रयोग गर्न सक्नुपर्छ।बाग्मती नदीलाई सफा गर्नको लागि राज्यले मात्रै नभई आम नागरिकहरुले पनि भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए। दुई वर्षभित्रमा बाग्मती नदीलाई ढलमुक्त बनाउने रणनीतिका साथ कार्ययोजना बन्दै। सफाइ अभियानपछि बाग्मती नदी सफा र व्यवस्थित बन्दै गएको बाग्मती सफाइका अभियनता डा। राजु अधिकारी बताउँछन्।

यो नदी सफा गर्नको लागि चाडपर्व, झरी नभनी निरन्तर सफाइ अभियानमा लागेर आज तीन सय हप्ता पुगेको छ, उनले भने त्यही संघर्षले गर्दा नदी व्यवस्थित भई बोटिङ गर्न लायकको ठाउँ बनेको छ। हामीले नै हाम्रो नदीमा फोहोर गर्छौं। त्यसैले हाम्रा अभ्यास बदल्नु पर्छ। यो अभियान निरन्तर जारी रहने छ।जनप्रतिनिधिहरुले घोषणा गरेका योजनालाई पूरागरी सरकारबाटै बागमती सफाइका लागि शक्ति आयाम हुनुपर्ने उनले बताए। २०७० जेठ ५ गतेदेखि संस्थागत रूपमा बाग्मती सरसफाइ अभियान सुरु भएको थियो। रुद्रमती, धोवीखोला, विष्णुमति, नख्खु, कर्मनासा कोड्कु, इन्द्रमति बल्खु, मनोहरा, हनुमन्तेलगायत नदी सफाइ अभियान विस्तार हुँदै तीन सय हप्ता आइपुग्दा देशभर नै सफाई अभियान पुगेको अभियन्ता अधिकारीले बताए। उनका अनुसार अहिलेसम्म नदीबाट १८ हजार मेट्रिकटन फोहोर व्यवस्थापन गरिएको छ।अधिकारसम्पन्न बागमती सभ्याता एकीकृत विकास समितिका आयोजना प्रमुख आशीष घिमिरेले उपत्यकाका ढल र फोहोर गन्धले बच्न नसकिएकोले यी सबै स्वच्छ, हराभरा र ढलमुक्त बनाउने लक्ष्य रहेको बताए। उनका अनुसार करिब ६ वर्ष अवधिको सफाइ अभियानमा करिब एक हजार आठ सय संघसस्थाहरु आवद्ध रही १० लाख भन्दा बढी स्वायमसेवक परिचालित भएका छन्। सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले सफाइ अभियानले बाग्मती नदी व्यवस्थित बन्दै गएकाले थप व्यवस्थित बनाउनको लागि मन्त्रालयबाट आगामी दुई वर्षभित्रमा बाग्मती नदीलाई ढलमुक्त बनाउने बताए। ‘उपत्यकामा अव्यवस्थित बस्तीले नदी अतिक्रमण भएको छ उनले भने यसलाई व्यवस्थित गरिनेछ। दुई वर्षभित्रमा नदीमा ढलमिसिने छैन।’ आगामी हप्ताको लागि सफाइ योजना तयार पारी सफाइ अभियान सञ्चालन गरिने उनले बताए। उक्त कार्यक्रममा उपत्यका बाहिरका सफाइ अभियन्ताहरुको समेत उपस्थिति थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई नदी, सडक धार्मिक सम्पदाको संरक्षण र सफाइ गर्नको लागि नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाई सम्बन्धी कार्यविधि २०७५ को परराष्ट्रमन्त्री ज्ञवाली सहरी विकास मन्त्रालयका मन्त्री मोहम्मद इस्तियाक राई लगायतले सार्वजनिक गरेका थिए।