भक्तपुरमा भेटिएको बालिकाको शव सनाखत नहुँदा पोष्टमार्टम गर्न समस्या

प्रकाशित मिति:

काठमाडौं । भक्तपुरको राधेराधेस्थित हनुमन्त खोलाको पुलमुनि भेटिएको बालिकाको शव सनाखत हुन सकेको छैन । जसका कारण शवको पोष्टमार्टम भएको छैन ।प्रहरीका अनुसार शनिबार उनको शव भेटिएलगत्तै कानुनी प्रक्रिया पूरा गरेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो । प्रक्रिया अनुसार परिवारले जाहेरी दिएपछि मात्रै अस्पतालले पोष्टमार्टम गर्छ ।

शवको प्रकृति हेर्दा ८ देखि १० वर्ष उमेरको हुनसक्ने अनुमान गरिएको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी हिमालय श्रेष्ठले बताए । ‘शवको अनुहार देखिने अवस्थामा छैन । किरालले खाएको जस्तो देखिन्छ’, उनले भने, ‘बंगाराको मासु पनि छैन ।’

अब शवको पहिचानका लागि बचेको चिज भनेको उनको कपडा नै हो । बालिकाले हरियो रंगको कपडा लगाएकी थिइन् । केही समयअघि काभ्रेमा ११ वरषीया बालिका हराएको भन्दै निवेदन दर्ता भएको थियो । त्यो रिपोर्टसँग जोडेर पनि यो घटनालाई हेर्ने कोशिश भइरहेको छ । तर, प्रहरीले यथेष्ट प्रमाण भेटेको छैन । उमेर पनि मिलेको छैन ।पोष्टमार्टमको रिपोर्टबाट मात्रै बालिकाको मृत्युको समय र कारण खुल्नेछ ।