बलिउड अभिनेता महेश आनन्द मृत भेटिए

प्रकाशित मिति:

सन् १९८० र १९९० को दशकमा हिन्दी चलचित्रहरुमा खलनायकको भूमिका निभाउने महेश आनन्द मुम्बईस्थित आफ्नै घरमा मृत भेटिएका छन् ।महेश आनन्द अंधेरी उपनगरमा रहेको उनकै घरमा मृत भेटिएका थिए । प्रहरीका अनुसार अभिनेता आनन्दको मृत्यु दुई दिन पहिले भएको अनुमान गरिएको छ ।

प्रहरीका एक अधिकारीले बताएअनुसार आनन्दकी घरेलु सहयोगी शनिबार उनको घर पुगेर ढोका ढकढकाउँदा कसैले ढोका खोलेका थिएनन् । पछि उनले आनन्दका छिमेकीलाई जानकारी दिइन् । उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।त्यसपछि त्यहाँ पुगेका प्रहरीले उनको घरको ढोका तोडेर घरभित्र प्रवेश गर्दा उनलाई मृत पाएको बसोवा प्रहरी थानाका प्रहरी निरीक्षक रविन्द्र बड्गुजरले बताएका छन् । पोस्टमर्टमपछि मात्र उनको मृत्युको कारण पत्ता लाग्ने निरीक्षक बड्गुजरले जानकारी दिए ।

आनन्दले अमिताभ बच्चन अभिनित ‘गंगा जमुना सरस्वती’, ‘शहंशाह’, ‘लाल बादशाह’ को साथै ‘थानेदार’, ‘कुली नम्बर १’, ‘बागी’ जस्ता कतिपय सुपरहिट चलचित्रमा काम गरिसकेका छन् ।उनी केही समय पहिला रिलिज भएको चलचित्र ‘रंगीला राजा’ मा पनि देखिएका थिए ।