नेमकिपा महाधिवेशन ६ महिना धकेलियो

प्रकाशित मिति:

भक्तपुर / नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन आगामी असोजमा हुने भएको छ। पार्टीको आइतबार भक्तपुरमा सम्पन्न ३० औं केन्द्रीय परिषद्ले ०७५ चैत १, २, ३ र ४ गतेका लागि पूर्वनिर्धारित पार्टीको सातौँ महाधिवेशन ६ महिनापछि सार्ने निर्णय गरेको परिषद्पछि जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

पार्टीको ३० औँ केन्द्रीय परिषद् पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा माघ २५ देखि २७ गतेसम्म भक्तपुरमा सम्पन्न भएको हो। परिषद्ले गरेका निर्णय र पारित प्रस्तावबारे पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले वक्तव्य जारी गरी परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्ताव पारित गर्नुका साथै केही निर्णय लिएको जनाएको छ।

केन्द्रीय परिषद्ले महाधिवेशनको अर्को मिति र स्थान तय गर्न पार्टी केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको छ। पार्टीको आगामी महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न बिजुक्छेको अध्यक्षतामा महाधिवेशन तयारी मूल समिति गठन गर्नुका साथै विभिन्न १५ वटा समिति गठन गरेको जनाइएको छ।