रोकिएन टिपर आतंक

प्रकाशित मिति:

बिराटनगर । आइतबार बिहान बिराटनगर महानगरपालिका–२ बरगाछी चोकमा टिपरको ठक्करबाट ५० बर्षीय लगनलाल राजवंशीको मृत्यु भयो । घरबाट मजदुरीका लागि निस्किएका कटहरी गाउँपालिका– २ का राजवंशीलाई साइकलमा कोशी राजमार्ग पार गर्ने क्रममा को १ ख ७०९२ नम्मबरको ठक्कर दिँदा घटनास्थलमै मृत्यु भयो ।

गत माघ १४ गते विराटचौकबाट– विराटनगरतर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरको ठक्करबाट सुन्दरहरैंचाकी ११ वर्षीया बालिका लक्ष्मी ढकालको मृत्यु भयो । ढकालको मृत्युपछि आक्रोशित स्थानीयले सोही सडकमा कुद्ने सातवटा टिपरमा आगजनी गरे । टिपरमा आगजनी भएपछि सो सडक खण्डमा अहिले टिपर कुदेको छैन । टिपर व्यवसायीले सुरक्षाको माग गर्दै आन्दोलनसमेत गरेक छन् ।

गत मंसिरमा पनि सोही सडक खण्डमा टिपरको ठक्करबाट उदयपुर रौतामाई नगरपालिका – २ की ३५ वर्षीया गीता कटुवालको मृत्यु भएको थियो ।मोरङमा टिपरबाट भएका तीन गम्भीर दुर्घटना चालकको असावधानीका कारण भएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठ बरगाछी चोकमा टिपर घुमाउने क्रममा पछाडिको चक्काले साइकलयात्रीलाई किचेको बताउँछन् । साइकललाई ठक्कर दिने टिपर चालक इटहरी १३ का ५६ वर्षीय नुना सरदार अहिले प्रहरी नियन्त्रणमा छन् ।

‘साइकलयात्री र टिपर एउटै रुटबाट जाँदै थिए,’ डीएसपी श्रेष्ठ भन्छन्, ‘बरगाछी चोकमा घुमाउन खोज्दा टिपरको पछाडिको भागले साइकलयात्रीलाई ठक्कर दिएकाले चालकले होसियारी नगरेको हो कि भन्ने देखिन्छ ।’मोरङ जिल्लामा मात्र होइन, प्रदेश १ का अन्य जिल्लामा पनि टिपरको आतंक उस्तै छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार साउन यता मात्रै प्रदेशमा २० वटा टिपर दुर्घटना भएका छन् । २० दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् ।साँघुरा र जीर्ण सडकमा तिब्र गतिमा हुइँकिने टिपरबाट बढी दुर्घटना हुने गरेको छ । अस्वस्थ्य प्रतिस्पर्धाका कारण पनि दुर्घटनाको जोखिम बढी हुने प्रदेश ट्राफिक कार्यलय इटहरीका प्रहरी निरीक्षक होमराज दाहाल बताउँछन् । ‘टिपरमा अस्वस्थ्य प्रतिस्पर्धा पनि छ’ उनी भन्छन् ‘टाइम कार्ड लगाएपछि दुर्घटनामा केही कमी आएको छ ।’