प्रतिनिधि सभामा सडक सुरक्षा सम्वन्धी प्रस्तावमाथि छलफल हुँदै

प्रकाशित मिति:

काठमाडौं \ कांग्रेस सांसद डिला संग्रौला पन्तले दर्ता गराउनुभएको सडक सुरक्षा सम्वन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि प्रतिनिधि सभामा आज छलफल हुँदै छ । सवारी साधन दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या बढेको भन्दै पन्तले गत पुष २३ गते सो प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता गराउनुभएको थियो । सडकलाई गुणस्तरीय बनाउनुपर्ने, सवारी साधन सुरक्षित तवरले चलाउनुपर्ने र नागरिकको जीउ ज्यानको सुरक्षा सरकारले गर्नुपर्ने माग सहित उहाँले सो प्रस्ताव दर्ता गराउनुभएको हो । सडक विस्तार भइरह पनि त्यसको गुणस्तर र सवारी साधन आयात बढिरहेपनि मुलुकको आवश्यक्ता निर्धारण हुन नसक्दा दुर्घटना बढीरहेको पन्तको सार्वजनिक महत्वको प्रस्तावमा उल्लेख छ । मुलुकमा सवारी साधनको संख्या बढरहेपनि अहिले २५ वर्ष पुरानो ऐन नै कार्यान्वयनमा छ । २०४९ मा बनेको सवारी तथा यातायात सम्वन्धी ऐन र २०५४ मा बनेको नियमावली अध्यावधिक गर्नुपर्ने उहाँको माग छ । नेपाल संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र भएकाले पनि संयुक्त राष्ट्र संघले तय गरेका मापदण्ड कार्यान्वयन गर्नुपर्ने उहाँको प्रस्तावमा उल्लेख छ ।

यसैबीच प्रतिनिधि सभामा आज नेपालको संविधान अनुकुल बनाउने केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गर्ने कार्यसूची छ । कानून न्याय तथा मानव अधिकार समितिले दफावार छलफल गरी तयारी बनाउको प्रतिवेदनमाथि छलफल गरे पारित गर्ने कार्यसूची तय गरेको संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो । संविधान अनुकुल बनाउनुपर्ने विभिन्न १०९ वटा विषय समेटिएको सो विधेयक सरकारले गत पुष २० गते संसद सचिवालयमा दर्ता गराएको थियो । यस्तै आजको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन सुपरिवेक्षण र समन्वय समवन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची छ । भू–उपयोग सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक र विशेष आर्थिक क्षेत्र ऐन २०७३ लाई संसोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि समितिमा पठाउने सहप्रवक्ता अर्यालले बताउनुभयो । यसैबीच राष्ट्रिय सभामा आज प्रतिनिधि सभाबाट आएको भुक्तानी तथा फस्र्यौट विधेयक दफावार छलफल गरी पारित गर्ने कार्यसूची छ । प्रतिनिधि सभाको अघिल्लो अधिवेशन जारी रहेकै बेला दर्ता भएको सो विधेयक जारी अधिवेशनबाट पारित भएर राष्ट्रिय सभामा आएको हो । यस्तै संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण पहिलो संसोधन विधेयकमाथि सैद्धान्तिक छलफल हुने संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।