महिला फुटबलमा पहिलो पटक नेपालसंग भारत पराजित

प्रकाशित मिति:

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले पहिलो पटक भारतलाई पराजित गरेको छ । सिनियर टोलीले पहिलो पटक भारतलाई उसकै मैदानमा हराएको हो । सोमबार राति हिरो गोल्डकपको दोस्रो खेलमा नेपालले भारतविरुद्ध ऐतिहासिक जित रचेको हो । कलिंगा रंगशालामा नेपाल २–१ ले विजयी भयो । खेलमा दुवै गोल सावित्रा भण्डारीले गरिन् । सावित्राले खेलको पाँचौ मिनेटमा नै गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । हिराकुमारी भुजेलको लामो पासमा सावित्राले गरेको प्रहार भारतकी गोलरक्षक अदिति चौहानले छोएर पनि बचाउन सकिनन् । त्यसको दुई मिनेटमै सावित्राले दोस्रो गोल थपिन् ।

मनमाया लिम्बूले पेनाल्टी क्षेत्रभित्र दायाँ भागबाट दिएको क्रस गोलरक्षक अदितिले खुट्टामुनिबाट फुत्काएपछि सावित्राले गोललाइनबाट खाली पोस्टमा गोल गरिन् । सुरुवातमै नेपाल हावी भएपछि भारत खेलमा फर्किन सकेन । खेलको ८४ औं मिनेटमा रतनाबाला देवीले सिधै फ्रिकिकमा गोल गर्दै भारतलाई खेलमा फर्काउने प्रयास गरेकी थिइन् ।  यो ऐतिहासिक जितसंग नेपालले फाइनल पुग्ने सम्भावना जिवित बनाएको छ । नेपाल पहिलो खेलमा म्यानमारसंग ३–० ले पराजित भएको थियो । नेपालले अब अन्तिम खेलमा इरानलाई पराजित गरेर म्यानमारले भारतविरुद्ध बराबरी अथवा जित दर्ता गरेको खण्डमा नेपाल र म्यानमार फाइनल पुग्नेछन् । भारतले म्यानमारलाई हराएको खण्डमा भने नेपाल प्रतियोगिताबाट बाहिरिने छ । हेड टु हेडमा नेपाल कमजोर हुन सक्नेछ ।