प्रधानमन्त्री ओली भन्छन्–यो सरकार कुनै हालतमा ढल्दैन

प्रकाशित मिति:

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको वर्तमान सरकार नढल्ने बताएका छन् । नेपाल प्रहरीद्वारा आयोजित १७८ औं दीक्षान्त समारोहको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासको क्षेत्रमा धेरै काम गरेर मात्रै सरकार बिदा हुने बताए ।

उनले कसैलाई नौ–नौ महिनामा सरकार परिवर्तन हुन्छ भन्ने लागेको भए त्यस्तो भ्रम नपाल्न आग्रह गरे । उनले सरकार हट्नुभन्दा अगाडि धेरै कुरा थितिमा ल्याउने बताए । प्रधानमन्त्री ओलीले नेपाल प्रहरीलाई दलाली वा चाकडी नगर्न समेत निर्देशन दिए । सरुवा बढुवामा कुनै गुनासो नआउने गरी काम गर्न उनले प्रहरी अधिकारीहरुलाई सार्वजनिक मञ्चबाटै सचेत गराए ।

‘हाकिम र माथिकाको दलाली नगर्नु्स्, प्रहरी दलाली गर्न होइन, दमन गर्न पनि होइन । प्रोमोशन हुनको लागि कसैलाई रिझाउनु पर्दैन । कार्यसम्पादन मूल्यांकनको आधारमा प्रमोशन गर्न न्यायोचित प्रणाली स्थापना गर्न निर्देशन भइसकेको छ’, ओलीले भने ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले कार्यसम्पादनबाट जोगिन प्रहरीले राजनीतिक दबावको बहाना बनाउन नहुने बताए । ‘प्रहरीले काम गर्न नसक्दा राजनीतिक दबाव र प्रभावलाई बहाना बनाउनु हुन्न’, गृहमन्त्री थापाले भने, ‘नीतिगत तहमा स्वभाविक रूपमा राजनीतिक दबाव छ । तर, अन्यमा प्रहरी नै जिम्मेवार छन् ।’

केही दल र व्यक्तिले राजनीतिक अभिष्ट पूरा गर्न अपराधलाई अतिरञ्जित गरिएका गृहमन्त्री थापाले आरोप लगाए । ‘राजनीतिक अभिष्ट पूरा गर्न अपराधलाई अतिरञ्जित गरेर प्रस्तुत गर्ने गरिएको छ’, गृहमन्त्री थापाले भने, ‘यस्तोमा निर्दोष फस्न सक्ने भएकाले सचेत हुन जरुरी छ ।’ कार्यक्रममा अवसरमा ८३ पुरुष र १२ महिला गरी कूल ९५ इन्सेक्टर पास आउट भएको जानकारी दिइयो । यस्तै तालिमका क्रममा प्रथम द्धितीय र तृतीय भएकाहरुलाई सम्मानित पनि गरिएको थियो ।