सरकारको निरंकुशताविरुद्ध एकजुट भएर अघि बढ्न कांग्रेसका महामन्त्री कोइरालाको आग्रह

प्रकाशित मिति:
९ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारको निरंकुशताविरुद्ध जेहाद छेड्ने चेतावनी दिएका छन् । महामन्त्री कोइरालाले सरकारको निरंकुशताविरुद्ध जुध्न पार्टीका सबै नेता, कार्यकर्तालाई एकजुट भएर अघि बढ्न पनि आहृवान गरे ।

बुधबार आयोजित वीपी स्मृति दिवसको एक कार्यक्रममा उनले सरकारले पञ्चायतकालीन शैलीमा तरुण दलका नेता, कार्यकर्तामाथि केही दिनअघि आक्रमण गरेको स्मरण गराउँदै आक्रोश पनि व्यक्त गरे । महामन्त्री कोइरालाले सरकारको ज्यादतिविरुद्ध नडराई लेख्न पनि पार्टी निकटका पत्रकारहरुलाई आग्रह गरे ।

उपसभापति विमलेन्द्र निधिले सरकारले दुई तिहाइ दम्भका साथ अधिनायकवादी चरित्र देखाइरहेको आरोप लगाउँदै त्यसविरुद्ध लड्न पार्टीका सबै जनवर्गीय संगठनहरुलाई आग्रह गरे ।उनले सरकार संविधानको आधारभूत मूल्य, मान्यता विपरीतका गतिविधिमा संलग्न रहेको आरोप पनि लगाए ।उपसभापति निधिले शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका आफ्ना पार्टीका युवा संगठन तरुण दलका नेताहरुलाई घाइते बनाउने काम गरिएको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरे ।