कोठीबाट उद्दार गरिएका चेलीको डीएनए जाँच गरेर परिवारको जिम्मा

प्रकाशित मिति:

काठमाडौं – भारतको आग्राको कोठीमा बेचिएका ५ नेपाली चेलीको उद्दार गरेर डीएनए परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ  भारतको उत्तर प्रदेश राज्यको आग्राको कोठीबाट ५ नेपाली चेलीको उद्दार गरिएको थियो । समाजसेवी बालकृष्ण पाण्डे र माइती इन्डियाको विशेष पहलमा चेलीको उद्दार गरिएको थियो ।

भारतमा दलाल र नक्कली बाबुआमा बनेर उद्दार गरी पीडितलाई पुनः बेच्ने गरेको पाइएपछि समाजसेवी बालकृष्ण पाण्डेको पहलमा भारतको विशेष अदालत र जिल्ला अदालतको निर्देशन बमोजिम नेपाल ल्याएका ५ चेलीमध्ये ३ जना चेलीलाई डीएनए परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ ।

प्रहरी प्रधान कार्यालयका एआईजी पुस्कर कार्की, एसएसपी ईश्वरबाबु कार्की, एसपी कृष्णहरि शर्माको समन्वयमा अपराध अनुसन्धान विभाग केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रमुख राकेशकुमार सिंहको नेतृत्वमा डीएसपी रविन भण्डारी लगायतको टीमले ७ दिनभित्रमै परिवारजन र पीडितको डीएनए रिपोर्ट तयार पारी बालकृष्ण पाण्डेलाई हस्तान्तरण गरेको छ ।

‘उहाँहरूको सक्रिय सहयोग र अदालतले दिएको म्यादभन्दा ७ दिन पूर्व नै रिपोर्ट प्रदान गरिदिनुभएकोमा हाम्रो संस्थाले उहाँहरूप्रति हार्दिक कृतज्ञतासहित धन्यवाद प्रदान गर्दछ,’ ट्रस्टी सिता अधिकारीले भनिन्, ‘नेपालमा भारतबाट उद्दार गरी ल्याइएका पीडित महिला चेलीहरूलाई आवश्यक कागजातहरूका साथै डीएनए परीक्षण गरी हस्तान्तरण गरिएको यो प्रथम पटक हो ।’

अन्ततः १७ महिनाको नारकीय जीवन र १२ महिना भारत सरकारको संरक्षणमा रहेका चेलीलाई सम्पूर्ण प्रक्रिया पूरा गरी मंगलवार परिवारलाई हस्तान्तरण गरिएको उनले बताइन् ।