३२ वर्ष मुनिको तदर्थ समिति गठन गर्न विद्यार्थी नेताको माग !

प्रकाशित मिति:

काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ) का निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले निकट विद्यार्थी नेताहरुले पार्टी नेतृत्वलाई ३२ वर्ष मुनीको तदर्थ समिति गठन गर्न आग्रह गरेका छन् । मंगलबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुगेका नेताहरुलाई उनीहरुले नेविसंघको आगामी कार्यसमितिमा ३२ वर्ष मुनीका विद्यार्थी समेट्न आग्रह गरेका हुन् ।
निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा, निरञ्जन थापा, उमेश थापामगर, नवराज त्रिपाठीलगायतका विद्यार्थीहरुले सभापति शेरबहादुर देउवा, उपसभापतिद्व बिमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पार्टी कार्यालयको मूल प्रवेशद्वारमा राकेर यस्तो आग्रह गरेको बताइएको छ ।
‘‘पार्टीले नेविसंघको विधानमा ३२ बर्ष कायम गरेको र विधान उल्लंघन हुने आशंका बढेपछि केन्द्रीय कार्यसमितिको मिटिङमा प्रवेश गर्ने क्रममा नेताज्यूहरुलाई पार्टी कार्यालयको मुख्य ढोकामा रोकेर विधान अनुसार नै तदर्थ समिति गठन गर्न आग्रह गरेका हौं,’’ विद्यार्थी नेता थापाले भने ।
उनीहरुले पार्टीका नेताहरुलाई विधानमा भएको व्यवस्था विपरित ३२ बर्ष माथिको उमेरका व्यक्तिको नेतृत्वमा तदर्थ समिति गठन गरिए समानान्तर कमिटि गठन गर्नेसमेत चेतावनी दिएका छन् । कांग्रेसले आगामी महाधिवेशनबाट लागू हुने गरी नेविसंघमा ३२ वर्षिय उमर हदबन्दी लागू गरेर विधान पारित गरेको छ ।