बाटोको बिचमा नवजात शिशु, बिहानै पत्रिका वितरकले भेटे

प्रकाशित मिति:

अमेरिका – अमेरिकाको क्यालिफोर्नियामा एक युवकले नवजात शिशुलाई बाटोको बिचमा अलपत्र अवस्थामा भेट्टाएका छन् । क्यालिफोर्नियाको मदेरा काउन्टीको स्थानीय सडकको बिचमा स्थानीय समय अनुसार सोमबार बिहानै पत्रिका वितरणका लागि निस्केका २१ वर्षे युवा आउरेलिओ फुएन्तेस जुनियरले नवजात शिशु अलपत्र अवस्थामा देखेका हुन् ।

स्थानीय पत्रिका द फ्रेन्सो बीका वितरक आउरेलिओले मदेराको रान्चोस क्षेत्रमा शिशु देखेपछि प्रहरीलाई खबर गरेका हुन् । उनले प्रहरीलाई खबर गरेसँगै शिशुलाई नजिकै रहेको बाल अस्पताल लगेका हुन् । बिहान साढे चार बजेतिरै बाटोको बिचमा शिशु अलपत्र देखेको उनले बताए । शिशुकी आमा अनुमानित २० वर्षको हाराहारीकी युवती रहेको बताइएको छ । तर अहिलेसम्म पहिचान भएको छैन ।

ग्राहकको घरमा पत्रिका वितरणका लागि गएका आउरेलिओले आफ्नो कारको गति सुस्त गरेको बेला परेको थियो । उनले पत्रिका वितरण गर्दै गर्दा बाटोको बिचमा केही चल्दै गरेको देखे । पहिले कुनै जनावर होला जस्तो लागेको थियो तर नजिक पुगेपछि नवजात शिशु रहेको पत्तो पाए । त्यसपछि उनले ९११ मा कल गरे । त्यसपछि आफूले प्रहरीले भने अनुसार गरेको उनले बताएका छन् । आउरेलिओ नजिक पुग्दा नवजात शिशु बाटोको बिचमा रोइरहेको थियो ।