युवतीका विषयमा झगडा, चक्कूले हानेर साथीकै हत्या

प्रकाशित मिति:

कास्की – पोखरामा सोमबार राति १४ वर्षीय सचिन सिंजालीको हत्या गर्ने एक जना पक्राउ परेका छन् ।हत्या अभियोगमा उनकै साथी पर्वत घर भई पोखरा बस्ने २१ वर्षीय बेनी काले भनिने कुमार गर्बुजालाई कास्की प्रहरीले मंगलबार पक्रेको हो ।पाल्पा स्थायी घर भई पोखरामा आमासँग बस्दै आएका सचिन सिंजालीको सोमबार राति घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

घटनामा संलग्न भएको आशङ्कामा दुईजनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको थियो । प्रहरीले सीसीटीभी क्यामेराको सहायताले केही घण्टामै हत्यारा पत्ता लगाएको हो । सचिनको शव पोष्टमर्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।

एक जना युवतीको विषयमा विवाद हुँदा सचिनले कुमारलाई चक्कूले खुट्टामा प्रहार गरेको र त्यसपछि कुमारले सचिनको चक्कू खोसेर घाँटी रेटी हत्या गरेको जानकारी कास्की प्रहरीले दिएको छ । दुवै जनाले मादकपदार्थ सेवन गरेको पनि प्रहरीले जनाएको छ ।कास्की प्रहरीले अभियुक्त कुमार गर्वुजालाई कर्तव्य ज्यान मुद्धामा म्याद थप गरी अनुसन्धान गरिने जानकारी दिएको छ ।