नेपालद्वारा इरान पराजित

प्रकाशित मिति:

काठमाडौं \  भारतमा जारी हिरो महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपालले इरानमाथि प्रभावशाली जित दर्ता गरेको छ। फिफा बरियतामा आफु भन्दा ४८ औं स्थान माथि रहेको इरानलाई नेपालले ३(० ले पराजित गरेको हो। जितसँगै नेपालको फाइनल प्रवेश सम्भावना बलियो बनेको छ। भारतको उडिसा स्थित कालिङ्गा रंगशालामा सम्पन्न खेलमा नेपाललाई विजयी गराउन सावित्रा भण्डारीले उत्कृष्ट प्रदर्शन गरिन्। उनले नेपालका लागि २ गोल गर्दा अनिता बस्नेतले एक गोल गरिन्। नेपाललाई खेलमा अग्रता भने अनिताले दिलाएकी थिइन्। उनले खेलको ४१ औं मिनेटमा गोल गरेकी थिइन्। यस्तै सावित्राले ५९ औं र ८९ औं मिनेटमा गोल गरिन्। सावित्राले यसअघि भारत विरुद्धको खेलमा समेत उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरेकी थिइन्। जितसँगै नेपालले ३ खेलमा २ जित र १ हारसँगै ६ अंक जोडेको छ। नेपाल पहिलो खेलमा म्यानमारसँग पराजित भएको थियो। इरान र भारत विरुद्धको खेल जितेपनि नेपालले फाइनल प्रवेश गर्न भारत र म्यानमार बीच हुने खेलको नतिजा कुर्नुपर्नेछ। यी दुई बीचको खेल केही समयमै सुरु हुने भएको छ।