डा. केसी र सरकार पक्षको वार्ता असफल, केसीको स्वास्थ्य अवस्था नाजुक

प्रकाशित मिति:

काठमाण्डौ /अनसनरत डा.गोबिन्द केसी र सरकार पक्ष बिचको वार्ता बिफल भएको छ । मंगलबार सहमति नजिक पुगिएको भनिएको वार्ता आज एकाएक बिग्रिएको हो । शिक्षा मन्त्रालयमा बसेको आजको दोस्रो चरणको वार्तामा सरकारी पक्षले चिकित्सा शिक्षा विधेयकबारे छलफल नै गर्न नचाहेकाले वार्ता विफल भएको केसी पक्षले बताएका छन् । डा। केसीका सहयोगी एवं वार्ता टोलीका सदस्य डा. जीवन क्षेत्रीले वार्ता विफल भएको र अब कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति तय गरिने बताए। उनले भने, ‘दोस्रो पटकको वार्तामा पनि सरकारी पक्षले संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक, जुन केसी सरको मुख्य मुद्दा हो, बारे विषय प्रवेश नै गर्न मानेन। जसका कारण विषय प्रवेश नै नगरी वार्ता विफल भयो।” उनले भने अब डा. केसीले भनेअनुसार नै अगाडि बढ्छौं ”यता केसी पक्षको वार्ता टोलीलका संयोजक डा. अभिषेकराज सिंहले सामाजिक सञ्जाल ट्विटर मार्फत एक सन्देश लेख्दै सरकारी पक्ष गैर जिम्मेवार भएर प्रस्तुत भएको उल्लेख गरेका छन्। उनले सरकारी पक्ष लचक हुनुको सट्टा डा. केसीको खिल्ली उडाइएको भन्दै आपत्ती जनाएका छन्। उनले अबको विकल्प सशक्त विरोध रहेको उल्लेख गरेका छन्।
डा. केसीको अवस्था झनै गंभिर बन्दै
यसैबिच , उपचारमा संलग्न आवासीय चिकित्सकहरुले बुधबार पत्रकार सम्मेलन गरी डा.केसीको स्वास्थ्य अवस्थाबारे जानकारी गराए । पत्रकार सम्मेलनमा , आफुहरुले ड्युटीको समय मिलाउदै उपचारमा संलग्न भइरहेको जानकारी गराए ।
आवासीय चिकित्सकहरुका अनुसार आज १५ औँ सत्याग्रहको २६ औँ दिनमा आउदा, डा.गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनेको छ । उनको सेतो रक्तकोशिका (डब्लुबिसी) को संख्या हालसम्मकै न्यून भएको छ ।
चिकित्सकले भने ”रगतमा सुगरमा मात्रा अत्यन्त कम भएकाले उहाँ जुनसुकै बेला अचेत अवस्थामा पुग्न सक्नुहुनेछ । रगतमा पोटासियम अति नै कम भइसकेको र मुटुको चाल पनि अत्यन्त कम भइरहेकाले कुनै पनि बेला धड्कनमा समस्या आइ मुटु नै बन्द हुनसक्ने अवस्था आउनसक्छ ।”