हज ऐन र हज भवन आवश्यक : अध्यक्ष मिया

प्रकाशित मिति:

बुटवल,२ फागुन । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष समशेर मियाँले हज यात्रीहरुको उचित व्यवस्थापनका लागि हज ऐन ल्याउनुपर्ने बताएका छन् । मुस्लीम समुदायको महत्वपुर्ण तिर्थस्थल साउदीको मक्का मदिनामा हज गर्न जादा नेपाली हज यात्रीहरुले अनेकौं समस्याहरु झेल्नु परेको भन्दै त्यसको उचित व्यवस्थापनका लागि सरकारले हज ऐन ल्याउनु पर्ने बताए ।
बिहिबार बुटवलमा पत्रकारहरुसँगको भेटघाटमा बोल्दै हज समितिका नव नियुक्त अध्यक्ष मियाले हज ऐन बनेपछि हज यात्रीहरुको सहज व्यवस्थापन हुने र हजयात्राका क्रममा हुने गरेका अनियमितता समेत अन्त्य हुने विश्वास व्यक्त गरे । उनले अन्य मुलुकहरुले आफ्नो देशका हजयात्रीहरुको उचित व्यवस्थापनका लागि साउदी सरकारसँग समन्वय गरेर उचित प्रवन्ध गर्ने गरे पनि नेपाल सरकारले भने सहयोग नगरेको गुनासो समेत गरे । साउदी अरवले नेपालका लागि १२ सय हजयात्रीको संख्या तोकेको भन्दै उनले उक्त संख्या दोब्बर बनाउन नेपाल सरकारले साउदी सरकारसँग पहल गर्नुपर्नेमा जोड दिए । हजयात्रीहरुका लागि राजधानी काठमाडौमा हज भवन निर्माणका लागि जग्गा माग गरेकोमा हाल सम्म जग्गा उपलब्ध नभएको भन्दै अध्यक्ष मियाले काठमाडौमा २÷३ रोपनी जग्गा उपलब्ध गराउन नेपाल सरकारसँग माग समेत गरे ।
नेपाल सरकारले जग्गा उपलब्ध गराइदिए साउदी तथा कतार सरकारले हज भवन निर्माणका लागि आवस्यक रकम उपलब्ध गराउने आस्वासन दिए पनि जग्गा नहुदा भवन निर्माण हुन नसकेको गुनासो गरे । आफ्नो कार्यकालमा हजयात्रालाई व्यवस्थित बनाउने र आर्थिक अनियमितताको दाग लाग्न नदिने प्रतिवद्धता समेत उनले व्यक्त गरे । नेपालमा हाल १२ लाखको संख्यामा मुस्लीम समुदायको बसोबास रहेको सरकारी तथ्याङ्कमा उल्लेख भएको जानकारी दिए ।