धनुषामा ११ वर्षीया बालिकाको बलात्कारपछि जलाएर हत्या

प्रकाशित मिति:

धनुषा – धनुषामा विहेभोज खान गएकी एक बालिकाको हत्या भएको छ। मिथिला नगरपालिका–३ हरिहरपुर बस्ने नारायण रसाइलीकी ११ वर्षीया छोरी दुतिया रसाईलीको हत्या भएको हो। शवको प्रकृतिले बालिकालाई बलात्कार गरी हत्या गरेर जलाएको हुन सक्ने स्थानीयको आशंका छ। तर प्रहरीले हत्या भए पनि के, कसरी हत्या गरिएको हो भन्ने कुरा पोष्टमार्टम रिपोर्टपछि मात्र भन्न सकिने जनाएको छ।

आधा शरीर जलेको अवस्थामा खेतमा वालिकाको शव फेला परेको हो। बुधबार बेलुका गाउँमै विहेभोज खान गएकी बालिकाको शव स्थानीहरुले मगरटोल नजिकै खेतमा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

बुधवार साँझ करिब ७ बजे भोज खान गएकी रसाइलीकी आधा जलेको अवस्थामा बिहीबार विहान १० बजे फेला परेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए। शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राईले बताए।