फागुन ८ गते नेकपाद्धारा लुम्बिनी व्यूरो बन्दको आव्हान

प्रकाशित मिति:

रुपन्देही /विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लुम्बिनी व्यूरोले फागुन ८ गते लुम्बिनीका ७ जिल्ला बन्दको आव्हान गरेको छ । आफ्नो पार्टीको नेताहरुलाई विनाकारण हिरासतमा राखेर नियोजित रुपमा झुट्टा मुद्दामा फसाउने षडयन्त्र गरिएको भन्दै सो पार्टीले लुम्बिनीका रुपन्देही, कपिलवस्तु, नवलपरासी, नवलपुर, गुल्मी, पाल्पा र अर्घाखाँची जिल्ला बन्दको आव्हान गरेको हो । गत माघ २३ गते अर्घाखाँची जिल्लाबाट नेकपाको सांगठनिक अभियानको शिलशिलामा नेकपाका लुम्बिनी व्यूरो सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज कमरेड पुर्णवहादुर सिंह, सेक्रेटरी कमरेड खिमबहादुर खड्का, अर्घाखाँची जिल्ला पार्टी सचिवालय सदस्य कमरेड पिताम्बर पोखरेल, अभियानयात्री कमरेड टुकलाल पुनलाई अर्घाखाँची प्रहरीले गिरफ्तार गरेको थियो । उनीहरुलाई हाल सार्वजनिक मुद्दा दर्ता गरि जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा हिरासतमा राखिएको छ ।

पार्टीका पोलिट्व्यूरो सदस्य तथा लुम्बिनी व्यूरो इन्चार्ज वीरजंगद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ,‘ गृह प्रशासनको उक्त हर्कतविरुद्ध हाम्रो पार्टीले गिरफ्तार कमरेडहरुको तत्काल ससम्मान रिहाईको माग गर्दै घोर निन्दा र भत्सर्ना गरेको थियो ।

तर अहिलेसम्म पनि झुट्टा मुद्दा दर्ता गराई कमरेडहरुलाई नियोजित ढंगले फसाउने षड्यन्त्र गरिएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । गिरफ्तार कमरेडहरुलाई अहिलेसम्म पनि रिहा नगरिएकोले आगामी २०७५ फागुन ८ गते लुम्बिनी व्यूरो अन्तर्गतका सबै जिल्ला बन्दको घोषणा गरिएको छ ।’ विज्ञप्तीमा ८ गतेसम्म पनि नछोडिए थप कडा संघर्षमा जाने चेतावनी समेत दिईएको छ ।