उद्घाटन खेलमा झापा– ११ विजयी

प्रकाशित मिति:

बुटवल – मोफसलकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको २१ औं संस्करण आजबाट शुरु भएको छ । उद्घाटन खेलमा झापा– ११ विजयी भएको छ । सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २–० ले हराउँदै पहिलो खेल आफ्नो पक्षमा पारेको हो । झापाको तर्फबाट टिम क्याप्टेन कर्ण लिम्बुले पहिलो हापको ११औं मिनेटमा १ गोल गरे भने दोस्रो हाफको ५ मिनेटमा बुद्धबल तामाङ्गले दोस्रो गोल गरेका थिए । यसँसँगै भोलीको खेल लाली रुपन्देही ११ र सुनसरी ११ को रहनेछ ।

खेलको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नगरपालिकाले ३ बर्षभित्रमा स्तरीय रंगशाला निर्माण गर्ने र देशमै उत्कृष्ट खेलकुद खेलाउन सक्ने उल्लेख गरे । मेयर सुवेदीले नगरको विकासको लागी खेलको विकास अनिवार्य रहेकोमा जोड दिदैं, युवाहरुलाई पलायनताबाट राक्न र देशमा सभ्भावना देखाउन खेलकुदले ठूलो सहयोग गरेको बताए ।

बुटवल उपमहानगर संरक्षक रहेको पश्चिम क्षेत्रकै पूरानो र प्रतिष्ठित मानिने तिलोत्तमा गोल्डकप २०३१ सालमा स्थापना भएर ०३३ सालदेखि आयोजना सुरु भएको तिलोत्तमा गोल्डकप अहिलेपनि बुटवलबासीका लागि उत्सव नै हो । प्रतियोगितामा प्रथम हुनेले ८ लाख ८० हजार, द्वितिय हुनेले ५ लाख ५० हजार पुरस्कार र शिल्ड पाउने जिल्ला फुटवल संघले जनाएको छ । यस्तै उत्कृष्ट खेलाडीले एक थान स्कुटर, उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र कोचले २५–२५ हजार रुपैया र शिल्ड पाउने अध्यक्ष दीर्घबहादुर केसी कुमारले बताए ।