तेस्रो बयरघारी रमाईलो मेला तथा पुरुष भलिबल प्रतियोगिता फाल्गुन १७ देखि

प्रकाशित मिति:

स्याङ्जा – स्याङ्जाको भीरकोट १ बयँरघारीमा तेस्रो बयँरघारी रमाईलो मेला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।  स्थानीय आँधीखोला पिस युथ क्लब भीरकोट १ स्याङ्जाले शिक्षा स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनको लागि रमाईलो मेलाको आयोजना गरेको हो । यसअघि पहिलो र दोस्रो गरी २ मेला सफलतापुर्वक सम्पन्न गरिसकेको क्लबले यही १७ देखि २७ गते सम्म १० दिने मेलाको आयोजना गरेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

शिक्षा, स्वास्थ्य र खेलकुदका साथै रचनात्मक सामाजिक कार्यका लागि अग्रसर हुने ध्येयले तेस्रो पटक समेत मेलाको आयोजना गरिएको क्लबका अध्यक्ष एवं मेला मूल आयोजक समितिका संयोजक राजकुमार गुरुङले बताउनुभयो । संयोजक गुरुङले यस अगाडि आयोजित मेलाबाट बचत रकम हामीले विभिन्न प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गरेका थियौँ र यसपटकबाट बचतको रकम समेत रचनात्मक सामाजिक कार्यमा खर्चिने बताउनुभयो । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको क्षेत्रमा बचत रकम लगानी गर्ने भन्दै संयोजक गुरुङले मेलामा विषेश गरी युवाहरुको आकर्षण रहेको भलिबल प्रतियोगिता समेत आयोजना गरेका बताउनुभयो ।  २ सय स्टल रहने मेलामा औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्रि, कृषि उपजको प्रदर्शनी तथा विक्रि, हस्तकला प्रर्दशनी तथा विक्रि, सूचना प्रविधिका विषयमा जानकारी, अटोमोबाईल, पर्यटन प्रवद्र्धनका सामाग्रीको प्रदर्शनी, नगरपालिकामा रहेका धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिईनेछ ।

मेलामा पुरुष भलिबल प्रतियोगिता, राष्ट्रिय कलाकारको प्रस्तुति, नेपाली संस्कृति झल्कने नृत्य, हाँस्यब्याङग्य प्रस्तुति, बालउद्यान, लाईभ कन्र्सट लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम मेलाको आर्कषण रहेको छ । भलिबल प्रतियोगितामा विजेतालाई नगद १ लाख सहित चाँदीको ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेतालाई ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने दर्ता शुल्क ५ हजार रहेको आयोजकले जनाएको छ ।  साढे २ लाख दर्शकले मेलाको अवलोकन गर्ने आयोजकको दावी  रहेको छ ।

८० लाख खर्च लाग्ने अनुमान गरिएको मेलामा १ करोडको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ भने २० लाख बचत गर्ने आयोजकको भनाई छ ।   कार्यक्रममा भीरकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुङ्गानाले मेला समग्र भीरकोटको पहिचान भएकाले आयोजक पूर्ण रुपमा खट्नुपर्ने बताउनुभयो ।  स्थानीय सरकारको विधि, नीति, नियमको दायरामा रहेर महोत्सव सम्पन्न गर्नुपर्ने भन्दै युवाहरुद्वारा आयोजित मेलामा सबैको साथ र सहयोग आवश्यक रहने अधिकृत ढुङ्गानाको भनाई थियो ।  कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्माले मेलाले युवाहरुलाई समृद्ध समाज तथा राष्ट्र निर्माणमा जोड्ने बताउनुभयो ।