राष्ट्रिय परीक्षा बोर्डमा बेथिती : गोप्यता भंग हुने आशंका

प्रकाशित मिति:

ईश्वरराज ढकाल / काठमाडौं –  राष्ट्रिय परीक्षा बोर्डले संचालन गर्ने कक्षा १० को एसइइ,कक्षा ११ र १२ का माध्यामिक तहको परीक्षाको परीक्षाफल प्रकाशित गर्ने देखि डाटा इन्ट्री गर्ने सम्मको काम करारका कर्मचारीबाट हुने तथ्य सार्वजनिक भएको छ ।

परीक्षाफल प्रकाशन गर्ने अति संवेदनशील काम करारका कर्मचारीबाट हुने भएपछि बोर्डको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ ।
बोर्डका उच्च अधिकारीका अनुसार करारका कर्मचारीबाट काम गराउनु परेपछि समस्या आउने गरेको छ । स्थायी भए पो कारबाही गर्ने ? करार कर्मचारीलाई के गर्ने, उनीहरु नभए कामै गर्न सकिदैन–बोर्डका एक अधिकारीले नेपाल समाचारपत्रसंग भने । गतवर्ष एसइई परीक्षाफल प्रकाशित गर्दा त्रुटी नै त्रुटी भएपछि बोर्डको चर्को आलोचना भएको थियो ।

हाल परीक्षा बोर्डमा मुख्य इन्जिनियर गोविन्द पाण्डे, सहायक इन्जिनियरद्धय दीपेन्द्र थापा र सुप्रिज्ञा देवकोटा करारका कर्मचारी हुन । ती कर्मचारीले परीक्षाफल प्रकाशित गर्नुअघि विद्यार्थीको तथ्याङक संकलन, डाटा इन्ट्री, प्रोसेसिङ र परीक्षाफल प्रकाशित गर्ने गरेका छन् ।

अति गोप्य काम गर्दा करारका कर्मचारीको प्रयोग भएपछि बोर्डले करिब डेढ वर्ष अघि तालुकदार निकाय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसंग स्थायी कर्मचारीको माग गरेको थियो । करारका कर्मचारीले कतिपय अवस्थामा प्रश्नपत्र टाइप गर्नेसम्मको काम गर्ने गरेका छन् ।

परीक्षा सम्बन्धी सम्पूर्ण काम गर्ने कर्मचारी करारमा रहेको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले बताउनुभयो । उहाले भन्नुभयो–करारका कर्मचारी भएपनि गोप्य काममा कुनै समस्या आएको छैन । कक्षा १० को परीक्षा संचालन गर्ने निकाय तत्कालिन परीक्षा नियन्त्रण कार्यालय बोर्डको मातहतमा आएपछि बोर्ड अन्तर्गत तीन वटा परीक्षा जिम्मेवारीभित्र पर्ने गरेको छ ।

करारका कर्मचारीको भरमा १६ लाख बिद्यार्थीको भबिष्य

यो वर्ष चैत १० गतेदेखि संचालन हुने कक्षा १० को एसइई परीक्षामा करिब ६ लाख, आगामी बैशाख १५ गतेबाट संचालन हुने कक्षा १२ र २९ बाट संचालन हुने कक्षा ११ को परीक्षामा झण्डै १० लाख गरी १६ लाख विद्यार्थीको परीक्षा सम्पन्न गर्ने काम बोर्डले गर्ने छ । बोर्डले डेढ वर्ष अघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेश गरेको कर्मचारी सेवा सर्त सम्बन्धी नियमावली र करिब आठ महिना अघि संगठन संरचनाको रिपोर्ट मन्त्रालयमा पेश गरेको थियो ।

मन्त्रालयले नियमावली र रिपोर्ट स्वीकृत नगर्दा बोर्डका अधिकासं कर्मचारी करारमा काम गर्न बाध्य छन् । परीक्षा मात्र होइन बोर्ड अन्तर्गत ७ वटा प्रदेश कार्यालय सहित १२ कार्यालयको लेखा शाखा प्रमुख सहित अधिकांस कर्मचारी करारमा कार्यरत रहेका छन् ।

बोर्डमा ३ सय ४० कर्मचारी मध्य करिब २ सय कर्मचारी करार र ज्यालादारीका छन् । बोर्डका अधिकांश कर्मचारी करारका भएपछि बोर्ड आफै समस्यामा परेको छ । बोर्ड अन्तर्गत प्रदेश कार्यालयका अधिकांस लेखाका कर्मचारी करारमा कार्यरत रहेका छन । बोर्ड मुख्यालय लगायत अन्य कार्यालयमा कार्यरत कर्मचारी मध्य लेखा शाखा र परीक्षा सम्बन्धी काम गर्ने अधिकांस कर्मचारी करारकै भएको बोर्डले जनाएको छ । बोर्डले परीक्षाका प्राविधिक,सबै प्रदेश र अन्य कार्यालयमा स्थायी कर्मचारी माग गर्ने गरी नियमावली तयार गरेको थियो ।

मन्त्रालयका अधिकारी भने नियमावली स्वीकृत गर्ने विषयमा चासो देखाएकै छैनन । मन्त्रालयका अधिकारीले संघीय शिक्षा ऐन आउन लागेको अवस्थामा बोर्डको नियमावली आवश्यक नभएको भन्दै पन्छिने गरेका छन् । मन्त्रालयले फागुन २१ गतेभित्रै संघिय शिक्षा ऐन ल्याउने भएको छ । ऐन ल्याएपछि बोर्डको संरचनानै परिवर्तन हुने भएपछि मन्त्रालयले बोर्डले दिएको रिपोर्टको बारेमा चासो दिएको छैन ।