बन्द उद्योग सञ्चालन गर्न अर्थमन्त्री खतिवडाको आग्रह

५ फाल्गुन २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
16 Shares


काठमाडौं – अर्थमन्त्री डा.युवराज खतिवडाले बन्द उद्योग चलाउन निजी क्षेत्रलाई आग्रह गरेका छन्। नेपाल तयारी पोसाक उद्योग संघको २६औं वार्षिक साधारणसभामा खतिवडाले हेटौंडा कपडा उद्योग, वीरगन्ज चिनी कारखानालगायत बन्द अवस्थामा रहेका सरकारी उद्योग सञ्चालन गर्न तयार रहन निजी क्षेत्रलाई आग्रह गरेका हुन्। ‘सरकारले रुग्ण उद्योग निजी क्षेत्रको सहायताबाट चलाउन खोजेको छ’, उनले भने,‘तपाईंरूले सञ्चालन गर्न तयार रहनु होला।’

अर्थमन्त्री खतिवडाले स्वदेशी उत्पादन प्रोत्साहन गर्न सरकारले रुग्ण उद्योग चलाउन प्याकेजमै डिल गर्ने प्रतिबद्वता व्यक्त गरे। विद्युत् महशुल, आयकरलगायत सुविधा दिन प्याकेजमै डिल गर्ने उनको भनाइ छ। उद्योगमा विशेष सहुलियत र सुविधा घोषणा गरेर सरकारले उद्योगलाई प्रोत्साहन दिने तयारी गरेको उनको भनाइ छ। ‘स्वदेशी उत्पादनको अनिवार्य खपतकर्ता बनाउन हामी तयार छौं’, उनले भने, ‘पोसाक लगाउने क्षेत्रमा स्वदेशी कपडा अनिवार्य गराउन सकिन्छ।’

स्वदेशमा आत्मनिर्भर हुनुका साथै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने सरकारले त्यस्ता उद्योग प्रोत्साहन गर्ने बताए। गार्मेन्ट उद्योगले आयात प्रतिस्थापन गर्नुका साथै निर्यात पनि प्रवद्र्धन गर्न सक्ने भएकाले गार्मेन्ट क्षेत्रमा विशेष सुविधा दिन सरकार तयार रहेको उनको भनाइ छ।

औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी ऐन, बौंद्धिकस सम्पत्ति संरक्षण ऐन संशोधन गरी उद्योग प्रवद्र्धन र सरलीकृत गर्न सकारले काम अघि बढेको उनले बताए। ‘हामी उद्योगीको सहजताका लागि एकद्वार प्रणालीबाट सेवा दिने तयारीमा छौं’, उनले भने,‘ यसो हुन सके उद्योगमा लगानी प्रोत्साहन हुने छ।’ अर्थमन्त्री खतिवडाले राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीलाई ब्याजमा सहजीकरण र वाणिज्य सचिव केदारबहादुर अधिकारीलाई उद्योगीका समस्या सम्बोधन गर्न निर्देशन दिए।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले गार्मेन्ट उद्योगलाई सरल कर्जा, ब्याजदरमा सहुलियत र विद्युत्मा सुविधा दिन अपरिहार्य भइसकेको बताए। अन्य देशमा गार्मेन्ट उद्योग सरकारको उच्च प्राथमिकतामा परे पनि सरकारले गार्मेन्ट उद्योगलाई प्राथमिकता दिन कन्जुस्याँइ गरेको आरोप लगाए। शोधानान्तरण घाटा कम गर्न गार्मेन्ट उद्योगले ठूलो भूमिका खेल्ने उनको भनाइ छ।

नेपाल तयारी पोसाक संघका अध्यक्ष चण्डीप्रसाद अर्यालले गार्मेन्ट उद्योगलाई सरकारकाले विशेष छुट र सुविधा दिन अपरिहार्य भइसकेको बताए। गार्मेन्ट उद्योगलाई सरकारले विशेष छुट र सुविधा दिन अपरिहार्य भइसकेको बताए। ‘दुई हजारभन्दा बढी मेसिन उपयोगमा आउन सकेका छैनन्, ‘उनले भने, ‘त्यस्ता उद्योग चलाउन सरकारले वातावरण बनाइदिनुपर्छ।’ सरकारले रुग्ण उद्योग सञ्चालनमा ल्याए दुई वर्ष कर नलिने प्रावधान ल्याउन आवश्यक भएको उनको भनाइ छ। अध्यक्ष अर्यालले निर्यातजन्य उद्योगलाई पाँच वर्षसम्म कर नलिने सरकारको नीति बन्नुपर्ने बताए। ‘सरकारले हामीलाई सहयोग गरे छिट्टै नै ५० प्रतिशत पोसाक आयात प्रतिस्थापन गन सक्छौं’, उनले भने।

संघका पूर्वअध्यक्ष चण्डिराज ढकालले बैंकको ब्याजका कारण उद्योगी मारमा परेको बताए। उनले भने,‘ब्याजदर बढी भएका कारण उद्योगी अन्तर्राष्ट्रिय बजारसँग प्रतिष्पर्धा गर्न सकेका छैनन्।’

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपाली उत्पादन बढाउन ब्रान्डिङ र बजारीकरण पहिलो शर्त भएको बताए। गार्मेन्ट उद्योगले आकर्षक डिजाइन र ब्रान्डिङ गर्न सके यस उद्योगको सम्भावना प्रचुर रहेको उनको भनाइ छ। नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष कमलेशकुमार अग्रवालले दक्ष कामदार अभावमा उद्योगीले गुणस्तरीय सामान उत्पादन गर्न नसकेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया