बुढासुब्बा गोल्डकप : डफिन्स क्यामरुनद्वारा आयोजक धरान स्तब्ध, ट्रफीसहित ८ लाख पाेल्टामा

प्रकाशित मिति:

धरान- २०५८ पछि पहिलोपटक बुढासुब्बा गोल्डकपकाे फाइनलमा पुगेको आयोजक धरान फुटबल क्लब उपविजेतामै सीमित भएकाे छ। इतिहास बनाउने दाउमा घरेलु मैदानमा दर्शकको अपार साथलाई आयोजक धरानले सदुपयोग गर्न सकेन। मनकामना गोल्डकपको विजेता डफिन्स क्यामरुनले यो सिजनमा नेपालबाट अर्को बुढासुब्बा गोल्डकपको रुपमा अर्काे उपाधि हात पारेकाे हाे।

शनिबार सम्पन्न फाइलनमा धरानलाई टाइब्रेकरमा ३–२ गाेल अन्तरले रोक्दै क्यामरुनले उपाधि हात पारेको हो। उपाधिसँगै उसले नगद ८ लाख रुपैयाँ हात पारेको छ। उपविजेता धरान फुटबल क्लबले ४ लाख रुपैयाँमै चित्त्त बुझाउनु परेकाे छ।

जितका लागि क्यामरुनका जो एङ्गोला, पेटाङ्गा, यान्यिक अवनरले गोल गरे। यता आयोजकका तर्फबाट प्रकाश बुढाथोकी र दोर्जे तमाङले गोल गरे। उपविजेता बनेको आयोजकले व्यक्तिगत पुरस्कार भने बढी जितेको छ। बेष्ट डिफेन्स, बेष्ट मिड फिल्डर, बेष्ट स्टाइगर, बेष्ट खेलाडी र म्यान अफ दि म्याच उपाधि धरानले जितेको छ। सबै शिर्षका विजेताले जनही २५/२५ हजार रुपैयाँ नगद हात पारे। बेष्ट किपर र हाइस्कोर क्यामरुनले पाएको छ।

विजेता टिम तथा खेलाडीलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ट्रफी तथा मेडल प्रदान गरेका थिए। समापन कार्यक्रममा मुख्यमन्त्री राईले धरानलाई फुटबलको राजधानी बनाएर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता प्रदेश सरकारले गर्ने बताए।