मार्क्सलाई चिहानमा पनि आक्रमण ! घृणाको सिद्धान्त प्रतिपादक भन्दै शालिकमा ह्याम्मर प्रहार

प्रकाशित मिति:

लण्डन –  दुई साताको बीचमा उत्तरी लण्डनमा रहेको कार्ल मार्क्सको शालिकमा दोस्रो पटक क्षति गराइएको छ । ह्याम्मर प्रयोग गरेर घृणाको सिद्धान्त प्रतिपादक र नरसंहारको रुपरेखा तयार पार्ने व्यक्तिका रुपमा शालिकमा रातो अक्षरले लेखेर ह्याम्मर प्रहार गरिएको हो ।
अघिल्लो पटक फेब्रुअरी ४ का दिन यस्तै आक्रमण भएको थियो । उक्त आक्रमणले गर्दा शालिकमा निकै नै क्षति भएको छ । ती कुनै पनि आक्रमणलाई लिएर कसैलाई पनि गिरफ्तार गरिएको छैन । जर्मन दार्शनिक मार्क्सको सालिक अब पहिलाको अवस्थामा ल्याउन गाह्रो रहेको फ्रेन्ड्स अफ हाइगेट केमेटरी ट्रष्टका अधिकारीहरुले बताएका छन् ।

बेलायती म्यूजियमका कर्मचारी म्याक्सवेल ब्लोफिल्डले त्यो घटनाबाट आफू छक्क परेको जनाएका छन् । त्यहाँ पर्यटकहरु नियमित रुपमा आउने गरेकोमा यो घटनाले नोक्सान भएको बताइएको छ । कार्ल मार्क्सको चिहान हाइगेट केमेटरीको पूर्वतर्फको भागमा रहेको छ । मार्क्स, उनकी पत्नि जेनी भोन वेस्टफाटेन र परिवारका अन्य सदस्यको शव त्यहाँ गाडिएको मानिन्छ ।

वास्तविक रुपमा इस्टर्न केमेटरीको विभिन्न भागमा गाडिएको भएपनि सन् १९५४मा ती चिहानलाई एकै स्थानमा जम्मा गरिएको थियो । ती चिहानहरु लरेन्स ब्राडशाले डिजाइन गरेका हुन् र १९५६मा खोलिएका हुन् । खोल्ने कार्यक्रम बेलायत कम्युनिष्ट पार्टीका महासचिव ह्यारी पोलिटको नेतृत्वमा गरिएको थियो ।

त्यसमा ‘वर्कर्स अफ अल ल्याण्डस युनाइट’ भन्ने कम्युनिष्ट घोषणापत्रको नारा पनि लेखिएको छ । यसको निर्माणपछि माक्सवादी सिद्धान्त मान्नेका लागि यो स्थान तीर्थस्थल जस्तै भएको थियो । तर, मार्क्सका विरोधीहरुले भने यसलाई लक्षित गरेर धेरैपटक आक्रमण गरेका छन् । सन् १९७०को दशकमा दुई पटक बम आक्रमण नै भएको थियो । मार्क्स राजनीतिक शरण लिएर सन् १८४९ मा बेलायत गएका थिए ।

उनी १८७५ बाट मेटल्याण्ड पार्क रोडमा बस्न थालेका थिए । उनी लण्डनमा रहुन्जेल उनका साथी फ्रेडरिक एन्गेल्सको भर परेका थिए । उनको जन्म ५ मे १८१८ मा जर्मनीमा भएको हो भने मृत्यु १४ मार्च १८८३मा बेलायतमा भएको हो ।
(बीबीसी र अन्य एजेन्सीको सहयोगमा)