युग बुझेका युवा समयमै जुरमुराउनु पर्छ

प्रकाशित मिति:

२०५६ सालमा अर्घाखाँची जिल्लाको मालारानिमा जन्मिएका केशब खनाल समाजसेवामा सक्रिय रहेका एक युवा प्रतिनिधि हुन । उमेर छिप्पिएपछि मात्र होइन युवा अवस्था वाटै समाज सेवामा समर्पित हुनुपर्छ भन्ने मान्यता राखेका खनाल बुटवलकै लुम्बिनी बाणिज्य क्याम्पसमा अध्ययनरत छन । पहिलो पाइला नेपाल जस्ता विभिन्न सामाजिक संस्थाहरूमा आबद्ध रहेर केही वर्ष देखि निरन्तर रूपमा विभिन्न सेवा मुलक कार्य गर्दै आइरहेका छन । सामाजिक कार्यमा सक्रिय उनै केशव खनाल संग समाज सेवामा युवाहरूको भुमिकाको सम्बन्धमा सबल नेपाल साप्ताहिकका लागि झविन्द्र भण्डारीले गरेको कुराकानी ः
१. तपाईंको बुझाइमा युवा को हुन ?
मेरो विचारमा युवा भनेको एक यस्तो शक्तिले भरिएको अवस्था हो जसले राष्ट्रको सामाजिक, आर्थिक र राजनैतिक विकृति सच्याउने वा परिवर्तन गर्ने र नयाँ जोस जाँगरका साथ देशको मुहार फेर्न सक्ने क्षमता राखेका हुन्छन् । युवाले चाहेमा जस्तोसुकै परिवर्तन पनि सम्भव हुन्छ ।
२. समाज सेवामा युवाको भुमिकालाई कसरी लिनुहुन्छ ?
समाज सेवामा युवाको भुमिका धेरै छ युवाहरुले समाज लाई धेरै तरिका अपनाएर एउटा राम्रो समाज बनाउन सक्छन त्यसैले यो युगले यतिखेर युवाहरुलाई खोजिरहेको छ । समाजमा रहेका नकारात्मक पक्षहरुको परिवर्तन गर्नको लागि युवा हरुको नै जरुरत पर्ने गर्दछ । अब युवावर्गले ढिला गर्नु हुदैन । यस्ता व्याप्त जातीय भेदभाव, अन्यय, अत्याचार लगायतका भेदभावको बलियो साङ्लो अनि मान्छे मान्छे बीचमा रहेको यस्ता कुरितिको जालो तोड्नु जरुरी छ । युवावर्गले नै यस्ता कुराहरुलाई नजरअन्दाज गर्न थाल्यौ भने यस्ता कुसंस्कारलाई कसैले पनि हटाउन सक्दैन । त्यसैले युग बुझेको, संसार बुझेको युवा हामी अहिल्यै नै या भनौ समयमै जुरमुराउनु आवश्यक छ किनकि लाखौ युवाहरु नकारात्मक क्रियाकलापहरुमा फसिरहेका छन लाखौ विद्यार्थी हरु शिक्षा बाट बञ्चित भएका छन त्यसैले हामी युवाहरु मिलेर विभिन्न किसिमका अभियानहरु उठाएर समाजमा रहेका गरिब तथा परिबारको साथ नभएर पढ्न नपाएका हरुलाइ पनि शिक्षा प्रदान गर्नु पनि युवाहरुको भुमिका हो । समाजमा व्याप्त यस्ता विभिन्न कुरितिलाई जरै देखि उखेल्नु पर्छ अनिमात्र हामिले आफ्नो परिभाषा पाउन सक्छौ होइन भने हामि आफू युवावर्ग भन्ने परिभाषाबाट नजिक हुनु बेकार छ ।
३. पहिलो पाइला कस्तो संस्था हो र यस मार्फत कस्ता कस्ता कार्य गर्दै आउनु भएको छ ?
सामाजिक क्षेत्रमा देखिने स–साना लगायत ठुला समस्या, बिभिन्न किसिमको शोषण, दमन, अन्याय, अत्याचार बिरुद्ध उत्तरदायी र जिम्मेवार भएको निरन्तर परिवर्तनको सोच बोकेर अघि बढेको संस्था हो । त्यति मात्रै नभएर पहिलो पाईला नेपालले समाजमा रहेका दिनदुखी हरुलाई सेवा गर्दै आएको छ । आर्थिक रुपमा कमजोरी तथा साहरा नपाएका विद्यार्थी हरुलाई पनि विभिन्न किसिमका अभियानहरु चलाएर सेवा गर्दै आएको छ भने जाडो याममा न्यानो माया अभियान पनि चलाउदै आएको छ । बास्तबमा पहिलो पाइला नेपाल छोटो समयमा सबै दिन दुखीहरुको मलम बनेर समाज सेवामा समर्पित भएको संस्था हो ।
४. समाज सेवा संगै देश विकासमा युवाको भुमिका कस्तो हुन्छ ?
सामाजको अवस्था कस्तो हुने ? योजनाहरुको छनौट तथा निर्माण कसरी हुन्छ ? गाँउ समाजमा निर्माण भएको वा हुने विभिन्न उपभोक्ता समितिहरु, व्यवस्थापन समितिहरु, चलिरहेका चलन र संस्कारहरुमा युवाहरुको सहभागीताको लागी युवाहरुले नै बिशेष चासो दिएर लाग्नुपर्ने हुन्छ । जसले गर्दा विद्यमान श्रोत र साधनको सहि पहिचान र उपयोगको ढोका खुल्छ । यसका लागी युवाहरुले समाज विकासको सकारात्मक बाटो समाउनुपर्ने आवश्यकता छ । व्यक्तिबाट समाज, समाजबाट गाँउ बन्छ, गाँउ बनेमा जिल्ला बन्छ र जिल्ला बन्यो भने मात्र देश बन्न सक्छ त्यसैले देशको विकास गर्ने हो भने समाज विकासको क्रम देखि नै युवाहरुको सहभागीता गराउदै जानुपर्ने हुन्छ । समाजमा हुने विभिन्न खाले विकृतिहरु हटाउनका लागी युवाहरु नै अग्रसर हुनुपर्ने हुन्छ । समाज परिवर्तनशिल छ । समय अनुसार समाजलाई रूपान्तरण गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणमा युवाको भुमिका महत्त्वपूर्ण हुन्छ । त्यति मात्र होइन समाज परिवर्तन संगै देश विकासको गतिलाई सार्थकता दिन हामी युवा सधै जुरमुराउनु आवश्यक छ ।
५. अन्त्यमा के भन्नुहुन्छ ?
सामाजिक परिवर्तन सँगै बिकृती बिसंगतिको न्युनिकरण, सामाजिक, धार्मिक, नैतिक मूल्य र मान्यतालाई संरक्षण गर्दै शिक्षा स्वास्थ्य वातावरण सुधार, संस्कृतिको जर्गेना जस्ता क्षेत्रमा पनि अहिले का युवाहरु आवद्ध भएर समाज लाई सकारात्मक पक्षमा अगाडि लानु पर्छ र विभिन्न किसिमका अभियान हरु चलाएर समाजमा शिक्षा बाट बन्चित भएकालाइ शिक्षा प्रदान गर्ने र हरेक सामाजिक गतिविधि हरुमा क्रियाशील भएर म जस्ता हजारौं युवा हरु समाज परिबर्तन को लागि आबद्ध हुन जरुरी छ जस्तो मलाइ लाग्छ ।