पत्रकारिताको साख जोगाउनु पर्छ : पत्रकार पौडेल

प्रकाशित मिति:

बागलुङको जैमिनी छिस्ती गाविस वडा नं १(हाल जैमिनी नगरपालिका—८ बागलुङमा जन्मिएका दिलीप पौडेल एक दशकदेखि पत्रकारितामा क्रियाशिल छन् । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र तथा मानवशास्त्रमा स्नाकोत्तकर गरेका पौडेल स्नातक तहमा पत्रकारिता अध्ययन गरेका हुन् । स्वदेश तथा विदेशमा पत्रिकारिता सम्बन्धि तालिम तथा प्रशिक्षणमा सहभागी पौडेल खोज पत्रकारितामा रुची राख्छन् । पौडेल एक लाख रुपैयाँ रासीको बारबरा एडम्स खोजी पत्रकारिता अवार्ड—२०१७, नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले प्रदान गर्ने ५० हजार रासीको सेजन अवार्ड लगायतका दर्जन बढी राष्ट्रिय तथा स्थानीय स्तरका पुरस्कार तथा अवार्डबाट सम्मानित भइसकेका छन् । उनी पत्रकारका पेशागत हकहितका लागि पनि क्रियाशिल छन् । नेपाल पत्रकार महासंघ बागलुङका पूर्व उपाध्यक्ष पौडेल हाल नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य छन् । बागलुङबाट पत्रिकारिता करिअर सुरु गरेका पौडेल अहिले मूलधारको पत्रकारितामा छन् । बागलुङ जिल्लाबाट प्रकाशित हुने कालिका साप्ताहिक, मुक्तिक्षेत्र दैनिक, सयपत्री एफ.एम.लगायतका सञ्चार माध्यममा सम्पादकीय नेतृत्व गरिसकेका पौडेल अहिले नागरिक दैनिक काठमाडौंमा विजनेश व्यूरोमा बरिष्ठ संवाददाताको रुपमा कार्यरत छन् । मोफसलदेखि मूलधारको पत्रिकारितामा करिअर बनाइरहेका पौडेलसँग पत्रकारितामा अवसर, चुनौती, पत्रकारको दायित्व, पत्रकारिता क्षेत्रमा देखिएका समस्या लगायत विषयमा सवल नेपाल साप्ताहिकका लागि सन्जु पौडेलले गरेको कुराकानी :
कसरी पत्रकारितामा आउनु भयो ?
स्नातक तह तेस्रो वर्षमा फङ्सनल पेसर पत्रिकारिता पढें । अध्ययन कै क्रममा समाचार लेखनको सीप सिकें । स्नातक तहमा अध्ययन गर्दा गैर सरकारी संस्था आमा मिलन केन्द्रमा काम गर्थें । गैससको कामका लागि गाउँ—गाउँ जानुपथ्र्यो । समुदायमा पुग्दा हरेक गतिविधिलाई समाचारीय एङ्लबाट हेर्न थालें । ती विषयवस्तुलाई समाचार बनाएर दिएपछि स्थानीय सञ्चार माध्यममा प्रकाशित हुन थाले । बागलुङमा प्रकाशित हुने ढोरपाटन दैनकि, धौलिगिरी जागरण पत्रिकामा समाचार लेख्दालेख्दै कालिका साप्ताहिकको सम्पादकीय मण्डलमा बसेरै काम गरें । अनि सयपत्री एफ.एम, मुक्तिक्षेत्र दैनिकमा आबद्ध भएँ । आफूले लेखेका समाचारकोे प्रभाव समाजमा पनि देखिन थाल्यो । त्यसपछि पत्रकारिताको प्यासनले क्रमशः आकर्षित ग¥यो । व्यावसायिक पत्रकारिताबाट आफ्नो करिअर अघिबढाउन सकिन्छ भन्ने आत्मविश्वास बढ्यो । पत्रकारिता पेशाबाट आफ्नो जीविकोपार्जनमात्र नभएर देश र समाजका लागि पनि योगदान दिन सकिन्छ भन्ने ठानेर होमिएको हुँ । २०६७ सालमा नागरिक दैनिकमा काम गर्ने अवसर पाएपछि गैससको जागिर छाडेर अध्ययनसँगै पत्रकारितालाई अगाडी बढाएंँ । बागलुङबाट रिपोर्टिङ गर्दागर्दै अहिले नागरिक दैनिक काठमाडौंमा विजनेश व्यूरोमा काम गरिरहेको छु । बीचमा पत्रकारिता भन्दा अन्य क्षेत्रमा आकर्षक अफर नआएका पनि होइनन् । अब पत्रकारितामा यस्तो लत बसिसक्यो । छाड्न सक्ने अवस्था नै छैन । यस क्षेत्र मै आफ्नो करिअर बनाउन मेहनत गरिरहेको छु ।
यहाँको अनुभवले मोफसल र केन्द्रको पत्रकारितामा के फरक पाउनुभयो ?
केन्द्रीकृत शासन व्यवस्थाबाट मुलुक भर्खर संघीय संरचनामा गएको छ । त्यसकै प्रभाव अनुसार पत्रकारितामा पनि केन्द्रीयता नै हाबी हुनु स्वभाविक हो । तर, कहिलेकाँही केन्द्रले (केन्द्रीय सञ्चार माध्यमले) मोफसलको समाचारलाई उपेक्षा गरिरहेको हुन्छ । त्यसमा दुवै पाटोलाई हेर्नुपर्छ । जिल्लाबाट रिपोर्टिङ गर्ने साथीहरुले विषयवस्तुको गाम्भिर्यतालाई ख्याल नगरी सतही रिपोर्टिङ गर्दा पनि प्राथमिकता नपरेको हुन्छ । कहिले काँही डेस्कले समाचारको विषयवस्तुलाई नजर अन्दाज गर्ने चलन पनि छ । त्यसमा जिल्ला र केन्द्रबीच समन्वयन हुने हो भने त्यस्तो समस्या आउँदैन । जिल्लाबाट रिपोर्टिङ गर्ने पत्रकारले सम्बन्धित स्थानबाट विषयवस्तु उठान गरेर तथ्य, तथ्यांकलाई गहिरो ढंगले प्रस्तुत गरी प्याकेजिङ गर्न नसक्ने कमजोरी पनि देखिन्छ । जिल्लाका सञ्चार माध्यमले पनि स्थानीय भन्दा केन्द्रीय समाचारलाई नै प्राथमिकता दिने गलत प्रचलन छ । तर, अहिले पछिल्लो समय पत्रकारिताको टे«न्ड फेरिएको छ । स्थानीय मुद्दा पनि प्राथमिकतामा छन् । हरेक दिनजसो प्रमुख अखबार, अनलाइन, टेलिभिजन, रेडियोले जिल्लाका समाचारको गम्भिरतालाई हेरेर प्राथमिकता दिन थालेका छन् । अब पत्रकारितामा मोफसल र केन्द्र भन्ने क्रमशः हट्दै गएको छ । ग्लोबल भिलेजको कन्सेप्ट आइरहेको बेला यसमा अड्किनु पनि हुँदैन । डिजिटल मिडियाको प्रभाव बढ्दै गएको छ । मुलुकको जुन कुनामा बसेर समाचार लेखे पनि गम्भिर विषयवस्तु राम्रो ढंगले पस्केको छ भने त्यसको रेस्पोन्स पनि उत्तिकै राम्रो आउँछ । अर्कोतर्फ डिजिटल प्ल्याटफर्मबाट निमेशभरमा विश्वभर पुगिसकेको हुन्छ । सामान्य अनलाइन वा पत्रिकाले प्रकाशित गरेको समाचार किन नहोस् त्यसलाई मूलधारका सञ्चार माध्यमले पनि क्यारी गर्छन् । अर्को कुरा विषयवस्तु, ज्ञान, खोज अनुसन्धान, पहुँच र अवसरले पनि त्यो निर्धारण गर्छ । मेरो अनुभवमा तुलनात्मक रुपमा जिल्लाको पत्रकारिता धेरै औपचारितामा सिमित छ । सरकारी तथा गैर सरकारी निकायका औपचारिक तथा अनौपचारिक कार्यक्रममा पत्रकारलाई निमन्त्रणा गर्ने, पत्रकार नजाँदासम्म कार्यक्रम सुरु नगर्ने । घण्टौं कार्यक्रममा बस्यो न कुनै गहन राम्रो समाचार बन्छ । अनी हात लाग्यो शून्य । केन्द्रमा यो समस्या कम छ । सञ्चार माध्यमले औपचारिक भन्दा खोज समाचारलाई नै प्राथमिकता दिन्छन् । अरुले भन्दा फरक विषय पस्किनु पर्ने प्रतिस्पर्धा छ । अध्ययन, अनुसन्धानको दायरा फराकिलो छ । वीट पत्रकारिताको विकास भएकाले आफूले रिपोर्टिङ गर्ने वीटमा गहिराईमा पुगेर समाचार लेख्दा त्यसको रिजल्ट पनि राम्रो आउँछ । केन्द्रमा पत्रकारिताको दायरा फराकिलो छ ।
पत्रकारितामा चुनौती के देख्नु हुन्छ ?
बदलिँदो समय, सूचना प्रविधिमा आएको फड्को, सबैका हात—हातमा स्मार्ट मोबाइल फोनले पत्रकारिताको टे«न्ड पनि बदलिएको छ । पाठक, दर्शक, श्रोता डिटिटल प्ल्याटफर्मतर्फ डाइभर्ट भैरहेका छन् । पत्रिकाका लागि अनलाईन सञ्चार माध्यम चुनौती बनेका छन् भने अनलाइन पोर्टलकालागि सामाजिक सञ्जालमा पोष्ट हुने फेक न्यूज र टेलिभिजनका लागि युटुब । दिनभरका घटनाक्रमलाई अनलाइन मिडियाले सेकण्ड भरमै सूचनामात्र नभएर श्रव्यदृष्य पनि पम्प्रेषण गरिसकेका हुन्छन् । त्यसलाई डेप्थमा गएर फरक ढंगले पस्किन नसके भने भोलीको पत्रिकामा प्रकाशित हुने त्यही समाचार पाठकले किन पढ्ने ? यसले पत्रिकालाई चुनौतीमात्र थपिएको छैन खोज पत्रकारिता गरेर गहिरो ढंगले समाचार प्रकाशित गर्न दबाब सिर्जना गरेको छ । सामाजिक सञ्जाल अनलाइन मिडियाका लागि पाठकसम्म पुग्ने अवसर बने पनि पाठकले फेक न्यूज र न्यूज छुट्टयाउन नसक्दा डिजिटल मिडियाको विश्वसनीयतामाथि प्रश्न उठेको छ । त्यसैगरी, ‘सिभिल जोर्नालिजम्’(नागरिक पत्रकारिता) को अभ्यास पनि भैरहेको छ । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले कुनै घटनाक्रमलाई तुरुन्त फेसबुकमार्फत सार्वजनिक ग¥यो भने पाँच हजार जनामा पुग्छ । फेसबुक पेज, ट्विटर लगायत सामाजिक सञ्जालमा पोष्ट ग¥यो भने लाखौंमा पाठकसम्म पुग्छ । हजारौंबाट शेयर, रिट्विटी हुन्छ । यस चुनौती थपेको छ । सामाजिक सञ्जाल नागरिकका भावना तथा घटनाक्रम सार्वजनिक गर्ने शक्तिसाली माध्यम बनिरहेको छ ।
पत्रकारितामा विकृती छन् की ?
अवस्य पनि । हामी समाजलाई खुल्ला बनाउनु पर्छ भन्ने मिडियाकर्मीहरुले पत्रकारिताको कमिकजोरी र विकृतीको विषयमा आत्मसमीक्षा र बहस गर्नुपर्छ । कपीपेष्ट पत्रकारिता प्रमुख विकृतीको रुपमा देखिएको छ । च्याउ उम्रिंदा झै खोलिएका अनलाइन यसको प्रमुख भागीदार छन् । अन्य पक्ष पनि त्यति कै जिम्मेवार बनाएका छन् । विचार नमिले कै आधारमा, आफ्नो निहीत स्वार्थ पूर्ति गर्न, कुनै शक्ति दलाल समूह वा व्यक्तिको प्रभावमा परेर व्यक्ति विशेषलाई खुइलाउने प्रवृत्तिले पत्रकारिताको बद्नाम गरेको छ । पत्रकारितामा कन्टेन्टलाई बेच्ने भन्दा पनि वार्गेनिङ गर्ने प्रवृत्ति पनि हावी भएको छ । कहिले काहीँ मूलधारका ठूला मिडियामा पनि पोलिसी करप्सनका लागि लविङ गर्ने कन्टेन्टलाई प्राथमिकतामा दिने प्रचलन पनि छ । लगानीकर्ताको कर्पोरेट इन्ट्रेष्ट पनि यदाकदा देखिन्छ । पत्रकारिता भन्दा पार्टीकारिता पनि मौलाउँदै गएको छ । कालो धनलाई सञ्चार माध्यम प्रयोग गरेर सेतो बनाउने प्रयास हुने गरेको सुनिन्छ । यी सबै प्रवृत्तिको अन्त्य गर्नुपर्छ । यसमा पत्रकार ,सञ्चार माध्यम र नियामक निकाय प्रमुख दोषी छन् । यसले पत्रकार र पत्रकारिताको साख गुम्न सक्छ । पत्रकारिताको साखलाई जोगाउनु पर्छ । पत्रकारिताको व्यावसायिक मर्यादाबाट विचलित हुनु हुँदैन । त्यसका बाबजुत प्रतिस्पर्धी समाजमा पत्रकारिता र सञ्चार माध्यममा पनि उत्तिकै सकरात्मक प्रतिस्पर्धा छ । कसले छिटो समाचार सम्प्रेषण गर्ने मात्र नभएर खसले खोजी पत्रकारिता ग¥यो । त्यसका आधारमा सञ्चार माध्यम र पत्रकारको पनि वर्गीकरण हुने भएकाले आफूलाई अब्बल सावित गर्न नसक्ने पत्रकार वा सञ्चार माध्यम जो कोही पनि स्थापित हुन नसक्ने भएकाले विकृतीबाट टाढै रहन सक्नुपर्छ ।
पत्रकारिताको प्रभाव घट्दै गयो की भन्ने पनि सुनिन्छ नी ?
त्यसमा म सहमत छैन । पत्रकारिताको महत्व र प्रभावकारीता झनै बढिरहेको छ । हरेक व्यक्तिले सञ्चार माध्यमबाट नै आफ्नो ओपनीयन बनाइरहेका छन् । सञ्चारका प्रमुख उद्देस्य सूचना, शिक्षा, मनोरञ्जन, उप्रेरणामात्र नभएर मानिसलाई जिउने कला पनि सिकाएको छ । त्यस्ता थुप्रै उदाहरण छन् । सञ्चार माध्यम कमजोर भयो भने लोकतन्त्र बलियो हुन सक्दैन । अहिले पनि सञ्चार माध्यमले भ्रष्टाचार न्यूनिकरण, सरकारी तथा गैर सरकारी क्षेत्रको बेथितीलाई उजागर गरेर सच्चिन बाध्य पारेर जवाफदेही बताएका छन् । राज्यको श्रोत साधानमा भएको दुरुपयोगलाई बाहिर ल्याएर पारदर्शी समाज निर्माणमा अभिप्रेरित गरिरहेका छन् । लोकतान्त्रिक मुलुकको लागि सञ्चार माध्यम शसक्त माध्यम मात्र नभएर मेरुदण्ड नै हो । पत्रकारिताको तागतले तानाशाहलाई पनि आफ्नो गलत निर्णयबाट पछि हट्न बाध्य तुल्याउँछ ।
एउटा कुरा भने साँचो हो विगतमा जस्तो कुनियत लिएर कसैलाई भ्रमित पार्छु भन्ने अवस्था अहिले छैन । किनकी पाठक, दशक, श्रोताले विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारलाई तुलना गरेर ठिक बेठिक छुट्टयाएर पत्रकार र सञ्चार माध्यमको विश्वसनीयतामा प्रश्न उठाउन सक्ने भएका छन् । यसले पत्रकार तथा सञ्चार माध्यमलाई थफ जवाफदेही र उत्तरदायी बनाउन सघाएको छ ।
यहाँ नेपाल आयल निगम जग्गा खरिदमा करोडौं अनियमिताको विषयमा खोजमूलक समाचार लेखेर चर्चा आउनु भयो । भ्रष्टाचारका समाचार लेख्दा कत्तिको थ्रेट आउँछ, अनुभव कस्तो छ ?
पत्रकारले लेखेका समाचारले सबै पक्षलाई सन्तुष्ट दिलाउन सक्दैन । मुख्य कुरा समाचार तथ्यमा आधारित र सन्तुलित छ की छैन भन्ने हो । सबै पक्ष सन्तुष्ट नभएपछि थ्रेट त आउने नै भयो । हो, यहाँले भने जस्तै नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको बारेमा खोजमूलक रिपोर्टिङ ग¥यौं । त्यो चर्चामा आउन भन्दा पनि पत्रकारिताको धर्म पुरा ग¥यौं । ठूलो मेहनत गरेर रिपोर्टिङ गरेकाले चर्चा हुनु स्वभाविक थियो । जसले राष्ट्रिय स्तरमा एउटा बहस सिर्जना ग¥यो । यो खोज रिपोर्टिङबाट मैले धेरै कुरा सिकें । एउटा मिडियाले तथ्यमा टेकेर निरन्तर कलम चलाएर ठूलो बसह सिर्जना गरे पछि सरोकारवाला निकाय कानुनी दायरामा ल्याउन बाध्य हुन्छन् भन्ने पुष्टी गरेको छ । हामीले महिनौंसम्म अनियमितताको विषय उठान गरेपछि नेपाल आयल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपाल खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ । यसले पत्रकारिताको महत्वलाई पुष्टी गरेको छ । यो एउटा उदारहण मात्र हो ।
साँचो कुरा बाहिर ल्याउँदा पनि सम्बन्धित पक्षको तारोमा पर्ने सम्भावना हुन्छ । पत्रकारितामा स्वभाविक रुपमा डर, धम्की, त्रास, प्रलोभन आइरहन्छ । म आँफैले पनि भ्रष्टाचारका समाचार लेख्दा पटक—पटक धम्कीको सामना गरिरहेको छु । तर, पत्रकार विचलित हुनुुहुँदैन । आफ्नो सुरक्षाप्रति भने सतर्क हुनुपर्छ । आफ्नो व्यावसायिक धर्मप्रति प्रतिवद्ध रहेर निडरताका साथ कमल चलाइरहनु पर्छ । हामीले लेखेका समाचारबाट जनता, समाज र राष्ट्रलाई फाइदा पुग्योकी पुगेन त्यसमा ध्यान दिनु विषय अन्य विषय गौण हुन् । मुलुकको हित हुने गरी समाचार तयार गर्नुपर्छ । न की कुनै स्वार्थ तथा शक्ति दलाल समूहमा प्रभावमा परेर । कहिले काहीँ निरासा पनि आउँछ । अविचलित रुपमा आफ्नो दायित्व पुरा गर्दै फलोअप गरिरहनु पर्छ ।
पत्रकार र सञ्चार माध्यम सँधै सत्तापक्षको तारोमा पर्ने कारण के हो ?
पत्रकारितालाई राज्यको चौथो अंग त्यसै भनिएको होइन । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका आ—आफ्नै जिम्मेवारी, भूमिका र सीमालाई कानुनले नै तोकेको छ । ती निकाय कहिले काहीँ आफ्नो सीमा नाघेर बाहिर आउँछन् । ती निकायका कमी कमजोरीको स्वच्छ आलोचना गरेर सच्चिन नैतिक दबाब सिर्जना गर्ने काम सञ्चार माध्यमले गर्दै आएका छन् । जनताको मतबाट सत्तामा पुगेपछि अधिकांश राजनीतिक नेतृत्व सत्तालिप्सामा लालायित हुन्छन् । जनतासँग गरेका बाचालाई विर्सिँदै जान्छन् । त्यसलाई झक्झकाउने काम र त्यहाँ भएका विकृति, अनियमिता, भ्रष्टाचारको उजागर गरेर जनता समक्ष पु¥याउने काम पत्रकार र सञ्चार माध्यमले गरिरहेका हुन्छन् । सञ्चार माध्यमबाट आफ्ना कमजोरी तथा अनियमितता बाहिर आउँदा सामाजिक रुपमा प्रतिष्ठा र जनमत गुम्ने भएकाले पनि सत्तामा पुगेपछि जुनसुकै राजनीतिक नेतृत्व सञ्चार माध्यमप्रति अनुदार हुने गर्छन् । त्यसकै पछिल्लो उदाहरण हामीले नै देख्न सक्छौं । बर्तमान सरकारले मन्त्री परिषद् बैठकका निर्णय एक हप्तापछि सार्वजनिक गरेर सूचनाको हकमा अंकुश लगाउने निर्णय गरेको छ । समाचार लेखेकै कारण पत्रकारलाई साइबर क्राइममा मुद्दा चलाएका घटना छन् । कहिले काहीं भने पत्रकार र सञ्चार माध्यमले पूर्वाग्रहपूर्ण ढंगले नियतबस समाचार प्रकाशित गर्ने पनि गर्ने गरेका छन् । त्यस्तो अवस्थामा राज्यका निकायले सचेत गराउनुलाई स्वभाविक मान्न सकिन्छ ।
पत्रकारिता पेशाबाट के पाउनु भयो र के गुमाउनु भयो ?
पाउने र गुमाउने भन्दा पनि आफूले काम गर्ने पेशाप्रति सन्तुष्टी लिन सक्नुपर्छ । जुन पेशाप्रति लगनशील भई सन्तुष्टी लिएर काम गरिँदैन त्यो पेशा गर्नुहुँदैन भन्ने मेरो मान्यता छ । म पत्रकारिताप्रति पूर्ण सन्तुष्ट छु । हरेक व्यक्ति जुन पेशामा आबद्ध छ त्यो पेशाको व्यावसायिक मर्यादा र गरिमा कायम गर्नुपर्छ । पत्रकारिता अन्य पेशा भन्दा फरक छ । यो सामाजिक उत्तरदायित्वसहितको पेशा हो । मलाई सबैभन्दा धेरै कल्याणकारी पत्रकारिताबाट सन्तुष्टी दिन्छ । आफूले लेखेकै समाचारका कारण विद्यालयका भवन बने, पढ्न नपाएका विद्यार्थीलाई मनकारी दाताले सहयोग गरे, विरामीले उपचार पाए, अलपत्र परेकाको उद्दार भयो, कतिको मृत्यु संस्कारमा काजक्रिया खर्च जुट्यो । समग्रमा पीडित, दिनदुखीले न्याय पाए । भ्रष्टाचारी कानुनी कठघरामा उभिए । पत्रकारितामा धेरै धेरै शुभेच्छुक र केही शत्रु पनि कमाए जस्तो लाग्छ । पत्रकारिता अर्थोपार्जनका हिसाबले तुलनात्मक रुपमा कमजोर मानिन्छ । यसमा पनि मेरो आफ्नै धारणा छ । धेरै पैसा नै कमाउने हो भने व्यापार व्यवासाय, ठेक्कापट्टा गर्दा हुन्छ । सरकारी क्षेत्रमा काम गर्नेले पनि म दाबाका साथ भन्न सक्छु भ्रष्टाचार नगरी पैसा कमाउँदैन । होइन भने अहिलेको पेशागत करिअरमा व्यावसायिक पत्रकारिताबाट बाँच्न सक्ने अवस्था छ । त्यो आफ्नो क्षमतामा भर पर्छ ।
बिशेष गरी कुन विधामा कलम चलाउन मन पराउनुहुन्छ ?
म अहिले विजनेश रिपोर्टिङमा छु । यसका अलावा विशेष गरी अनियमितता, भ्रष्टाचार, प्रशासनिक क्षेत्रमा भएका विकृति, विसंगतिको उजागर गर्न मनपर्छ । आफूले लेखेको समाचारले सुशासन कायम गर्न, समाज सुधार गर्न, भ्रष्टाचार न्यूनिकरण गर्न, नीतिगत परिवर्तन गर्न, पीडितलाई न्याय दिन सहयोग पुगोस् भन्ने अपेक्षा राख्छु । अबको पत्रकारितामा सूचना सम्प्रेषण गरेरमात्र पुग्दैन । नयाँ ढंगले खोजमूलक समाचार पस्किन सक्नुपर्छ । म पत्रकारिताको विद्यार्थी भएकाले सबै विषयमा ज्ञान भने लिइरहनु जरुरी देख्छु ।
पत्रकारिता गर्ने र यो पेशामा आउन चाहानेहरुलाई के सुझाव छ ?
पत्रकारलाई समाजका हरेक क्षेत्रले नियालिरहेको हुन्छ । अरुको आलोचना गर्ने पत्रकार आफ्नो पेशागत मर्यादामा बस्नुपर्छ । अब सूचना विभागको प्रेस पास र नेपाल पत्रकार महासंघको सदस्य भएकै आधारमा पत्रकार हुँ भनेर दिन गए । लोक सेवा आयोगको परीक्षा दिएर निजामति पेशा प्रवेश गरेपछि सेवा अवधिभर त्यो कर्मचारी हुन्छ । तर, पत्रकार बन्न पत्रकारिता पढेर मात्र पुग्दैन । साँचो अर्थमा पत्रकार बन्न दिनहुँ पत्रकारिताको परीक्षा भैरहेको हुन्छ । त्यो कसीमा आफूलाई पास गर्न सक्छु । किनकी एउटा पत्रकारले लेखेर सञ्चार माध्यममा प्रकाशित भएको समाचारको तथ्य र विश्वसनीयताको प्रश्नको उत्तर दिनसक्नुपर्छ । एक दिन लेखेको समाचारको विश्वसनीयतामाथि प्रश्न उठ्यो भने करिअर मै धक्का लाग्न सक्छ । अर्को कुरा पत्रकारितामा निरन्तरता र फलोअप महत्वपूर्ण पाटो हो । समाचार लेख्न छोड्यो भने कार्डधारी पत्रकार त भइएला व्यावसायिक पत्रकार हुन सकिँदैन । जस्तो सुकै अवस्थामा पनि सम्झौता गर्नु हुँदैन । अहिलेको पत्रकारिता विगतमा जस्तो छैन, पत्रकारिताका आयमको बारेमा जानकार हुनुपर्छ । पत्रकारिता गर्न मास कम्युनिकेशन पढेरमात्र पुग्दैन पत्रकारको व्यावसायिक मर्यादा, आचारसंहिता, आफू निष्ठामा बस्न सक्छु भन्ने आत्मबल पनि हुनुपर्छ । यो पेशामा अवसर छ तर, आफूलाई अब्बल रुपमा स्थापित गर्न सक्छु भन्ने कन्फिडेन्स छ भने पत्रकारिता क्षेत्रमा स्वागत छ ।