मन्दिरको ढोका फाेडेर चोरिए ७०० वर्ष पुराना शालीग्राम, दानपेटिका पनि चाेरियाे

प्रकाशित मिति:

पर्वत – यहाँकाे मोदीवेणीधाम मन्दिरमा अज्ञात समूहले ढाेका फाेडेर ७०० वर्ष पुराना शालीग्राम चाेरी गरेकाे छ । शनिबार राति मन्दिरकाे मूल शालिग्रामसहित अन्य सानाठूला शालीग्राम चोरी भएकाे हाे ।

प्रसिद्ध धार्मिक पर्यटकीयस्थलको रूपमा रहेको मोदीवेणीधामस्थित नृसिंह मन्दिरमा रहेका झण्डै ५० शालिग्राममध्ये ४७ वटा चोरी भएको नृसिंह मन्दिर धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष केशवदास बैरागीले जानकारी दिएका छन् । बैरागीका अनुसार मन्दिरमा रहेको मुख्य शालिग्रामसहित अरु साना शालिग्राम र दानपेटिका समेत चाेरी भएकाे छ । तर दानपेटिकामा भने खासै पैसा नरहेकाे उनकाे भनाइ छ । चाेरी भएका सबै शालिग्रामको तौल करिब १०० किलो रहेकाे बैरागीकाे भनाइ छ । यस अाधारमा चाेरीमा एकजना मात्रै संलग्न नभएर गिरोहले सक्रिय रहेकाे हुनसक्ने अनुमान गरिएकाे छ ।

बिहान ४ बजे मात्र चाेरी भएकाे थाहा पाइएकाे थियाे । पूजाआजाका लागि पुजारी र भक्तजन मन्दिरमा जाने क्रममा ढोका फोडेर चाेरी भएकाे थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतमा खबर गरिएकाे थियाे । चोरीकाे जानकारी पाएपछि घटनास्थलको अवलोकन गरेकाे र प्रहरीले चोरी गर्नेको खोजी गरिरहेको बताइएकाे छ ।