नेविसंघमा ३२ माथिकै अध्यक्ष आउने , नेताहरुको दौडधुप तिव्र

कांग्रेसमा नेविसंघको महाधिवेशन गराउनका लागि तदर्थ समिति गठनको विषय चर्चामा छ

प्रकाशित मिति:

समाज खवर काठमाडौं । पटक पटक म्याद थप्दा पनि महाधिवेशन गर्न नसकेपछि नेपाल विद्यार्थी संघ अध्यक्ष नैनसिंह महरले अन्ततः पदबाट राजीनामा दिए । कांग्रेसले उनको राजीनामा स्वीकृत मात्रै गरेन बाँकी कार्यसमिति पनि भंग गरिदियो । अब कांग्रेसमा नेविसंघको महाधिवेशन गराउनका लागि तदर्थ समिति गठनको विषय चर्चामा छ । कांग्रेसको मुख्य भ्रातृसंस्था भएपनि नेविसंघको महाधिवेशन सधैं फलामको च्यूरा सावित हुने गरेको छ । फेरी एकपटक महाधिवेशन गर्नकै लागि तदर्थ समिति गठन हुँदैछ । सबैसंग सल्लाह गरी उपयुक्त निर्णय लिने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिइएको छ । नेविसंघ गठनको बल देउवाको कोर्टमा पुगेपनि आफू अनुकुलको तदर्थ समिति बनाउन कांग्रेसभित्र चलखेल सुरु भएको छ । सभापति शेरबहादुर देउवाकै जोडबलमा नेविसंघमा ३२ वर्षे उमेर हद लाग्ने विधान स्वीकृत भइसकेको छ । नेविसंघमा उमेरहद लगाउने निर्णय एकपक्षीय रुपमा सभापति देउवाले नै गराएका कारण तदर्थ समिति सोही अनुसार बनाउन उनलाई नैतिक दवाव छ ।

तर पार्टीको आसन्न महाधिवेशन र गुट व्यवस्थापनको दृष्टिले ३२ वर्षभन्दा माथिकै नेतालाई नेविसंघको जिम्मा दिने तयारी देउवाले गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्ण सिटौंला समूहले ३२ वर्षे उमेर हद लगाउन माग गरेका छन् । महाधिवेशनका लागि ६ महिनाको अवधि दिनुपर्ने उनीहरुको दोस्रो प्रस्तावमा पनि देउवा सहमत छैनन । कम्तीमा १ वर्षभित्र महाधिवेशन गर्नेगरी ३२ वर्षमाथिकै नेतालाई जिम्मेवारी दिने देउवाको तयारी छ । नेविसंघका जानकारहरु अब बन्ने तदर्थ समितिले पार्टी महाधिवेशनसम्म काम गर्ने दावी गर्छन् । ६ महिनामा महाधिवेशन गर्ने जिम्मा पाएको रञ्जित कर्ण नेतृत्वको तत्कालीन कार्यसमितिले पार्टीको महाधिवेशन सकिएपछि मात्रै महाधिवेशन गराएको थियो । आफ्नै गृहजिल्लाका नैनसिंह महरको कार्यसमितिलाई म्याद थप्न देउवा अनिच्छुक हुनुका पछाडि तदर्थ समितिलाई पार्टी महाधिवेशनसम्म लैजाने उद्देश्य रहेको देखिन्छ । ३२ वर्षमुनिको नेतृत्व ल्याउँदा आसन्न महाधिवेशनमा फाइदा नपुग्ने देखेपछि देउवाले पार्टी महाधिवेशनमा आफ्ना लागि खटिन सक्ने ३२ वर्षमाथिकै नेततालाई तदर्थ समितिको जिम्मा दिन चाहेका हुन् । देउवा निकट स्रोतका अनुसार राजीव ढुंगाना, सरोज थापा वा ऋषिकेशजंग शाहमध्ये एकले यस्तो अवसर पाउन सक्छन् ।उता कृष्ण सिटौंला पक्षले भने ३२ वर्षमुनिको नेतृत्व नआए समानान्तर समिति बनाउने चेतावनी दिदैं आएको छ । सो समूहका ३२ मुनिका नेताहरुले कांग्रेस केन्द्रीय कार्यालयमा प्रदर्शन समेत गरेका छन् ।

तदर्थ समिति बन्ने निश्चित भएपछि नेविसंघ वृत्तमा भने दौडधुप बढेको छ । सभापति देउवा पक्षले अध्यक्ष लिने निश्चित भएकाले अन्य पदका लागि पौडेल, कोइराला र सिटौला समूहका नेताहरु सक्रिय बनेका छन् । पौडेल पक्षले पूर्वमहामन्त्री मनोजमणि आचार्यलाई नेविसंघको अध्यक्ष नै बनाउन प्रस्ताव गरेको छ । सो प्रस्ताव देउवाले स्वीकार गरे अन्य विषयमा लचिलो हुने संकेत पौडेलले गरेका छन् । त्यस्तै महामन्त्री शशांक कोइराला निकट समूहले उमेर हद नलाग्दा महामन्त्रीमा दावी गर्ने भएको छ । महामन्त्रीका लागि सो समूहबाट उर्मिला थपलियाको चर्चा छ । सिटौंला समूहमा भने समूहको नेतृत्व कसले गर्ने भन्नेमा तीव्र विवाद छ । बलदेव तिमिल्सिना, युवराज पाण्डे, गणेश सापकोटा देखि सुशिल भट्ट, नवराज त्रिपाठी, विपिन अधिकारी,दुजाङ शेर्पा लगायतले समूहको नेतृत्वमा दावी गरेका छन् ।नेतृत्वको दावि गर्ने मध्यका एक युवराज पाण्डेयले भन्नुभयो तदर्थ समीती वनाउदा विधान अनुसारनै वनाउन आवश्यक भएकोले त्यस तर्फ पार्टी नेतृत्वले ध्यानदीनु पर्छ भन्दै राजनीतीक रुपमा नेविसंघ भित्रको शक्ती सन्तुलन मिलाएर वनाएको समीतीमात्र हामीलाई मान्य हुन्छ ।