दीप गायन ताराको छनौट चरण सम्पन्न

प्रकाशित मिति:

बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलमा आइतबार आठौँ अन्तर मा.वि. जिल्ला स्तरीय दीप गायन तारा प्रतियोगिताको छनौट चरण सम्पन्न भएको छ । विद्यालयको अड्तिसौँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगितामा रुपन्देही क्षेत्रका ३८ विद्यालयले सहभागिता जनाएका दिए । कार्यक्रममा प्रथम प्रतिस्पर्धाबाट छनौट भएका १७ विद्यालयमध्ये स्पन्दन पौडेल, विशान्त थापा, प्रिस्का गुरुङ, समीर घिमिरे, सक्सेस पाण्डे, कृष गुरुङ, प्रशन्न पछाई, विवस थापा, सिम्रन तामाङ र सुमन गुरुङ गरी जम्मा १० जना प्रतियोगी विद्यार्थीहरू फाइनल चरणका लागि छनौट भएको कुरा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले जानकारी गराउनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय प्रदेश नं.५ बुटवलका कार्यालय प्रमुख टीकाराम अर्यालले रुपन्देही क्षेत्रका विद्यालयमा रहेका गायन प्रतिभा भएका विद्यार्थीहरूको पहिचान गर्न र उनीहरूको साङ्गीतिक भविष्य निर्धारणको द्वार खोल्न कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । बुटवल उप महानगरपारालिकाका शिक्षा महाशाखाका प्रमुख लोकराज पन्थीले पढाइसँगै प्रतिभाको खोजी गर्ने गहन जिम्मेवारी दीप बोर्डिङले बहन गरेको भन्दै प्रशंसा गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा जनगायक जीवन शर्माको विशेष प्रस्तुती रहेको थियो । प्याब्सन बुटवलका अध्यक्ष कुलराज शर्मा, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल तथा सुरेन्द्रकुमार शाक्यको आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक दिनेश खड्काले स्वागत र उपप्राचार्य सुरेन्द्रकुमार शाक्यले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षकद्वय पुरुषोत्तम पाण्डे र दिनेश खड्काले गर्नुभएको थियो । भोली हुने कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री प्रंगेनी लगायतको प्रस्तुती रहने संयोजक खड्काले जानकारी दिनुभयो ।