बच्चालाई जन्डिस हुँदा के गर्ने ? के नगर्ने ? पढ्नुहोस् !

प्रकाशित मिति:

एजेन्सी –  जन्डिस आफैंमा रोग होइन । जन्डिस विभिन्न रोगका लक्षणहरुले गर्दा हुनेगर्छ । जन्डिसका लक्षण देखिना साथ के कारणले जन्डिस भएको हो, चिकित्सकको परामर्श लिनुपर्छ । जन्डिस सामान्यतः दुई प्रकारले हुने गर्छ– जन्मजात र कुनै रोगको संक्रमणले गर्दा ।

नवजात शिशुमा देखिने जन्डिस

भर्खर जन्मिएको बच्चमा २४ घन्टाभित्र देखिने जन्डिसलाई सामान्य जन्डिस भनिन्छ । सामान्य जन्डिस भएका धेरैजसो बच्चालाई बिहानको घाममा राखेपछि निको हुन्छ । जन्डिस धेरै मात्रामा देखियो भने फोटोथेरापी मेसिनमा राखेर घटाउन सकिन्छ । यसलाई फिजियोलोलिकल जन्डिस पनि भन्ने गरिन्छ ।

यो जन्डिस आबिसी टुक्रिएर हुनेगर्छ । जन्डिसको मात्रा बढी भएर बच्चालाई ज्वरो आयो, दुध खाएन भने रगत जाँच गरेर इन्फेक्सन छ कि छैन, हेर्नुपर्छ । न्युनेटल इन्फेक्सन भयो भने पनि जन्डिस देखिन्छ । यस्तो जन्डिसमा ज्वरो आउने, दुध नचुस्ने, बान्ता आउने जस्ता लक्षण देखा पर्छन् । जन्डिस जब ३ हप्ता समयसम्म रहन्छ, त्यो बेलामा डर मान्नुपर्छ । नवजात शिशुको जन्डिस निको नभएमा तुरुन्त बाल चिकित्सकसँग सल्लाह लिनुपर्छ । बिलिटी अटेजियाले गर्दा पनि जन्डिस देखिन्छ । यसमा बच्चाको जन्मजात नै पित्तथैलीको नली राम्रोसँग विकास नहुने हुन्छ । जन्मिएको एक÷दुई दिनसम्म जन्डिस रहन्छ र २१ दिन नाघेपछि पनि रहिरह्यो भने तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ । यस्तो अवस्थामा बच्चा स्वस्थ देखिन्छ तर बच्चाको दिसाको रङ सेतो हुन्छ । यदि कुनै लक्षण देखा नपरी बच्चाको दिसा सेतो भएमा तुरुन्त चिकित्सकसँग सल्लाह लिएर रगतको जाँच गर्ने, अल्ट्रासाउन्ड गर्ने र कुनै बेलामा कलेजोको बायप्सी गरेर ६० देखि ९० दिनभित्र शल्यक्रिया गर्नुपर्छ ।

९० दिनभित्र शल्यक्रिया गरिएन भने कलेजो फेर्नुपर्ने अवस्था आउँछ । यस्तो खालको बच्चाको समयमा उपचार भएको हुँदैन । धेरैजसो बच्चा अस्पताल पु¥याउँदा ३÷४ महिना बितिसकेको हुन्छ । बच्चा उपचार गर्न छुट्नुमा घरपरिवारले जन्डिस आफैं निको हुन्छ भनेर डाक्टरकोमा नजाने, खोप केन्द्रले नर्मल जन्डिस भनिदिने जस्ता कारण रहेका हुन्छन् । जन्डिस भएको ३ हप्ता भइसकेको छ भने कलेजोसम्बन्धी डाक्टरलाई देखाउनुपर्छ ।

नवजात शिशुमा एन्जाइमसको कमीले गर्दा पनि जन्डिस देखिन सक्छ । यस्तो खालको जन्डिस लामो समयसम्म रहिरहन्छ र नर्मल जन्डिसभन्दा फरक खालको हुन्छ । रगत जाँच र भिडियो एक्सरे गरेपछि कुन खालको जन्डिस हो भन्ने पत्ता लाग्छ । एन्जाइमको कमीले गर्दा हुने भनेको जिसिपिडी डेफिसेन्सी हो, यो छोरा शिशुहरुमा बढी देखिन्छ । यो नवजात शिशुदेखि ३÷४ वर्षको उमेरका बच्चामा देखिन्छ । नवजात शिशुमा थाइरोइड हर्मोनको कमी भयो भने जन्डिस देखापर्छ ।

संक्रमणले गर्दा हुने जन्डिस

खाना खाने उमेर समूहका बच्चामा हुने जन्डिस हेपाटाइटिस ‘ए’ र ‘ई’ संक्रमणको कारणले हुने गर्दछ । हेपाटाइटिस ‘ए’ र ‘ई’ भनेको एक किसिमको भाइरस हो । यो बाहिरको संक्रमित खाना र पानीको माध्यमबाट सर्छ । यस्तो जन्डिसमा सुरुमा आँखा पहेलो नभए पनि वाकवाक लाग्ने, ज्वरो आउने, पेट दुख्ने समस्या हुनसक्छ र विस्तारै जन्डिस देखापर्छ । यस्तो अवस्थामा चिकित्सको परामर्श लिइयो भने कुनचाहिँ खालको किटाणुले गर्दा भएकोे थाहा पाउन सकिन्छ ।

एक वर्ष नाघेका बच्चालाई हेपाटाइटिस ‘ए’ विरुद्धको खोप पनि लगाउँदा हेपाटाइटिस ‘ए’ को कारणले हुने जन्डिसबाट बच्न सकिन्छ । हेपाटाइटिस ‘ए’ र ‘ई’ जन्डिस कलेजो सुन्निएपछि देखिने गर्छ । खाना बार्दा यस्तो अवस्थाको जन्डिस बढ्दै जानसक्छ ।
हेपाटाइटिस‘ ‘ए’ र ‘ई’ को संक्रमणको कारणले हुने जन्डिसमा खानाको रुची कम हुन्छ । यो अवस्थामा फिक्का खाना दियो भने झन् खानाको रुची घट्दै जान्छ । जन्डिस निको हुन पनि समय लाग्न सक्छ । त्यसैले यस्तो जन्डिसमा बच्चाले खानासक्ने सामान्य खालको खाना दिनुपर्छ ।

एक÷दुई वर्षमा दुई÷तीन पटक जन्डिस भयो भने युलसन डिजिजको कारणले हुनसक्छ । युलसन डिजिज भयो भने कहिलेकाहिँ पटकपटक जन्डिस हुनेगर्छ । कलेजो सुन्निँदै गयो भने युलसन डिजिजमा कलेजो फेर्नुपर्ने हुनसक्छ । हेपाटाइटिस ‘बी’ सर्नाले पनि जन्डिस देखिनसक्छ । अहिले हेपाटाइटिस विरुद्धको खोप आइसकेकाले पहिलाको जस्तोे सर्ने सम्भावना कम हुन्छ । आमालाई हेपाटाइटिस ‘बी’ भएको छ भने बच्चालाई जन्मिएको ७२ घन्टाभित्र हेपाटाइटिस ‘बि’ र इमिनोगोलोबिन खोप लगाउनुपर्छ। त्यसो गर्दा बच्चामा सर्न पाउँदैन ।

हेपाटाइटिस ‘सी’ ले गर्दा पनि जन्डिस हुने सम्भावना बढी हुन्छ । यस्तो समस्या रगतसँग सम्बन्धित समस्या हुने बच्चामा धेरै देखिने गर्छ । जस्तैः सिकलसेल थाइलेसिमिया भएका बच्चालाई रगत दिनुपर्ने भएकाले कहिलेकाहीं हेपाटाइटिस ‘सी’ सर्ने सम्भावना हुन्छ ।
ग्रिलबर्ट सिन्ड्रोमको कारणले मात्र जन्डिसको मात्रा देखिन्छ। यो सिन्ड्रोम १२÷१३ वर्षको उमेरदेखि देखापर्छ। बच्चालाई ज्वरो आएमा, तनाव लिएमा, शरीरमा पानी कम भएको अवस्थामा यो समस्या बढी देखिन्छ । यसले कलेजोलाई भने केही असर गर्दैन ।

उपचार

जबसम्म शरीरमा रोग रहिरहन्छ तबसम्म निको हुँदैन जन्डिस। कुनै जन्डिस आफैं निको हुन्छ । सानो बच्चाको जन्डिस बिहानको घाममा राखेर र फोटोथेरापीमा सेकाएर निको हुन्छ । के कारणले गर्दा जन्डिस भएको हो, कारण पत्ता लगाएर उपचार गरियो भने रोग निको भएपछि जन्डिस पनि आफैँ घट्दै जान्छ ।

जन्डिस हुँदा खाना बार्नु पर्दैन

हाम्रो समाजमा जन्डिस भयो भने बेसार, नुन खानु हुँदैन । उखुको जुस मात्र पिउनु पर्छ । उमालेको खाना खानुपर्छ भन्ने मान्यता छ । जन्डिस हुँदैमा खाना बार्नु पर्दैन । चिल्लो, पिरो, अमिलो खानु हुँदैन तर घरमा पकाएको सामान्य खाना खान हुन्छ । जन्डिस भएकोे बेलामा कलेजो कमजोर भएको हुन्छ, त्यो बेलामा खानाको मात्र कम गर्नासाथ रोग झन् फैलने सम्भावना बढ्छ ।

जन्डिस भएको बेलामा यसै पनि बच्चाहरुमा खानाको रुची हुँदैन, त्यसमाथि फिक्का खाना दिँदा झन् खानाको रुची घट्छ । त्यसले गर्दा जन्डिस घट्न पनि समय लाग्छ । बच्चाले पचाउन सक्छ भने अन्डा, माछा, मासु दिँदा पनि फरक पर्दैन । बच्चालाई जन्डिस भयो भने आमाले खाना बानुपर्छ र बच्चालाई दुध दिनु हुँदैन भन्ने मान्यता छ । त्यसो गर्नु हुँदैन । बच्चालाई आमाको दुध पनि खुवाउनु पर्छ, आमाले पनि खाना बानु पर्दैन । जन्डिस भएर बच्चाको पेट दुख्यो, खाना अरुची भयो भने चाहिँ अस्पताल भर्ना गरेर राख्नुपर्छ ।