पशुपति शर्माको पक्षमा उभिँदै तरुण दलले भन्यो–कार्यकर्तामार्फत नधम्क्याउ

प्रकाशित मिति:

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले लोक गायक पशुपति शर्माको पक्षमा उभिएको छ । सत्तारुढ दल नेकपाको एक भ्रातृ संगठन युवा संघ नेपाल गायक शर्माको विपक्षमा उभिएका बेला तरुण दलले उनको पक्षमा वकालत गरेको हो ।

तरुण दलले नागरिकले भोग्नु परेको परिस्थितिलाई शब्दमा उतारेर गाइएको ‘लुट कान्छा लुट…’ बोलको गीतको सम्मानमा गायक शर्मालाई सम्पुर्ण साथ रहने पनि बताएको छ । तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले सोमबार विज्ञप्ती जारी गरेर जनताको मन छुने गीत गाएको भन्दै गायक शर्मालाई सम्मान गर्ने बताएका छन् ।   तरुण दलले गायक  शर्माको ‘लुट कान्छा लुट…’ बोलको गीतलाइ कम्युनिष्ट सरकारले आफ्ना कार्यकर्तामार्फत धम्काएर बन्द गराएको भन्दै आपत्ति जनाएको छ । “सरकारको यो रबैयाले जनताको बोल्न पाउने, आफ्नो बिचार राख्न पाउने, कुनै पनि रचना तथा सृजना गर्न पाउने र अभिव्यक्ति स्वतन्त्रताको संबैधानिक अधिकारको समेत हनन् भएको छ’’ महासचिव शाहीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

सरकारले जनताको बोल्न पाउने नैसर्गिक अधिकार खोसेर अभिव्यक्ति स्वतन्त्रताको हनन् गरेको तरुण दलले दाबी गरेको छ । विज्ञप्ती भनिएको छ, ‘‘सरकारको आदेसमा कम्युनिस्ट कार्यकर्ताले मण्डले प्रवृत्ति देखाउनु गलत हो । ओलीले आफूलाई यमराज ठानेका छन् । नेपालमा पशुपतिलाई जसले अपमान गर्छ उ आफै सकिएको इतिहास छ ।’’

उक्त गीत बजारमा आएको दोस्रो दिन गायक शर्माले युट्युबबाट हटाउँदै परिमार्जन गरेर पुनः ल्याउने सामाजिक सञ्जालमार्फत बताएका थिए । सोही दिन सत्तारुढ दल नेकपाको भ्रातृ संगठन युवासंघको नाममा खोलिएको फेसबुक पेजमा एक विज्ञप्ती जारी गरेर उक्त गीत नहटाइए गायक शर्माको करिअर नै समाप्त गरिदिने चेतावनी दिइएको थियो ।