स्थायी राजधानी र नामाकरण सिफारिस गर्न गठित समिति राय सुझाव लिन प्रदेश का १२ वटै जिल्लामा जाने

प्रकाशित मिति:

प्रदेशको स्थायी राजधानी र नामाकरण सिफारिस गर्न गठित विशेष समिति सरोकारवाला पक्षको राय सुझाव लिन प्रदेश ५ का १२ वटै जिल्लामा जाने भएको छ ।मंगलबार बसेको समितिको वैठकले समितिमा रहेका १५ जना सदस्यहरु ६ वटा टोलीमा बाँडिएर फागुन ९ गतेदेखि जिल्लामा जाने निर्णय गरेको हो । टोलीले जिल्लामा पुगेर राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि,नागरिक समाज, पत्रकार, निजी क्षेत्रलगायतका संघसंस्थासंग रायसुझाव लिने छ ।स्थायी राजधानीका ८ वटा र नामाकरणका लागि ३ वटा प्रश्न रहेको फारम तयार गरिएको विशेष समितिका सभापति दीपेन्द्रकुमार पुनले जानकारी दिए । जसमा प्रशासनिक सुगमता कस्तो, भूमि व्यवस्था कसरी गर्ने, भूमि संकेन्द्र (ल्याण्ड पुलिङ) कस्तो हुने,जनघनत्व र वातावरणीय अनुकुलता, सामरिक सुरक्षा, भौगोलिक अनुकूलता, कुन ठाउंमा राख्दा उपयुक्त होला र अन्त्यमा तपाईको केही सुझाव छ कि सहित ८ वटा प्रश्न रहने छन् ।

नामाकरणका लागि ऐतिहासिक पहिचान,भौगोलिक पहिचान र सांस्कृतिक पहिचान मध्ये कुनलाई आधार मानेर प्रदेशको नाम राख्दा उपयुक्ता होला भनी तीनवटा प्रश्नको उत्तर सोधिने सभापति पुनले बताए ।फागुन १८ गतेसम्म सबै जिल्लाबाट रायसुझाव लिएर ती सबै जिल्लाका सुझावहरुलाई कम्पाइल गरी तयार प्रतिवेदनलाई भुगोलविद्, सुरक्षाविद् र मौसमविद्बाट रायसुझाव लिएर अन्तिम प्रतिवेदन बनाई प्रदेश सभामा पेश गरिने सभापति पुनले बताए ।जिल्लामा राय सुझाव लिन गठित टोलीहरु मध्ये रुपन्देही र नवलपरासी पश्चिममा सरस्वती गौतम र तेजबहादुर वली,कपिलवस्तु र अर्घाखांचीमा तारा जीसी र वैजनाथ कलवार, गुल्मी र पाल्पामा बाबुराम गौतम, सहसराम यादव र भुवनेश्वर चौधरी,दाङ र प्युठानमा निर्मला क्षेत्री,नारायण आचार्य र कल्पना पाण्डे,बांके र बर्दियामा विष्णु पन्थी र तुलसी चौधरी तथा रुकुम र रोल्पामा बिरबहादुर राना र दिनेश पन्थी जाने तय भएको समितिका सदस्य विष्णु पन्थीले जानकारी दिए ।

विशेष समिति गठन भएको शुरुको तीन महिनासम्म संयोजक नै तोक्न नसकी म्याद गुज्रेपछि तीन महिना म्याद थपिएको थियो ।समितिमा सबै जिल्लाको प्रतिनिधित्व नभएको आवाज उठेपछि उक्त समितिका सदस्यहरु हेरफेर गरिएको छ ।सम्बन्धित राजनीतिक दलहरुको सिफारिसका आधारमा बिशेष समितिमा रहने सदस्यहरुको नामावली हेरफेर भएको थियो ।बिशेष समितिमा रहेका रुपन्देहीका अष्टभुजा पाठकको ठाउँमा नवलपरासीका बैजनाथ कलवार,अर्घाखाँचीका चेतनारायण आचार्यको ठाउंमा बांकेका बाबुराम गौतमलाई र बर्दीयाका दिपेश थारुको ठाउँमा रुकुमका तेजबहादुर वलीलाई राखिएको थियो ।विशेष समितिमा जिल्लागत प्रतिनिधित्व नभएको भन्दै बाँके,रुकुम र नवलपरासीका सांसदहरुले प्रदेशसभामा पटकरपटक आवाज उठाउदै आएका थिए ।प्रदेश ५ को स्थायी राजधानीमा हालको अस्थायी राजधानी बुटवल र दाङबारे सत्तारुढ दलकै शीर्ष नेताहरुबीच विवाद छ ।यसअघिको शेरबहादुर देउवा नेतृत्वको सरकारले बुटवललाई अस्थायी राजधानी तोकेको थियो । स्थायी राजधानी र नामाकरण प्रदेशसभाको दुई तिहाई वहुमतले निर्णय गर्नुपर्ने संंवैधानिक व्यवस्था छ ।प्रदेशसभामा नेकपाको दुई तिहाई मत भएपनि स्थायी राजधानीका विषयमा भेगीय मत बाझिएकाले यो विषय पेचिलो बनेको छ ।