१ अर्ब अकुत सम्पत्ति दाबी गर्दै पाठकविरुद्ध अख्तियारमा उजुरी

प्रकाशित मिति:

काठमाडौं- घुस प्रकरणमा राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको झन्डै एक अर्ब रुपैयाँ बराबरको अकुत सम्पत्ति देखिएको छ। काठमाडौंं कोटेश्वरका सुजन दाहालले अख्यिारमा आइतबार दिएको उजुरीमा उनको सो रकम बराबरको अकुत सम्पत्ति रहेको विवरण उल्लेख गरिएको छ।

उजुरीमा उल्लेख गरिएअनुसार पाठकलाई अंशबन्डाबाट तीन बिघा जग्गा मात्र आएको थियो। पाठकको नाममा जनकपुर उपमहानगरपालिका–६ मा चारकठ्ठा जग्गामा पक्की घर छ। सोही वडामा पाठकलाई अख्तियारका तत्कालीन प्रवक्ता कृष्णहरी पुष्कर कर्णका भाइ कार्यालय प्रमुख र तत्कालीन जिल्ला ट्राफिक प्रहरी धनुषाका प्रमुखले अर्को तीनतले घर बनाइदिएको निवेदनमा उल्लेख छ।

त्यस्तै, पाठक अख्तियारको आयुक्तमा नियुक्त भएपछि महोत्तरीको पुर्ख्यौली गाउँ एकडारामा अढाई तले पक्की घर बनाएका थिए। पाठकले महोत्तरीको बर्दिबास नगरपालिकामा १२ कठ्ठा जग्गा खरिद गरेका समेत उजरीपत्रमा उल्लेख छ। रौतहटको गौर नगरपालिकामा आफन्तको नाममा ४ कठ्ठा घडेरी खरिद गरेका पाठकले विराटनगरमा दुई कठ्ठा क्षेत्रफलको घडेरी खरिद गरेका छन्।

यसैगरी, काठमाडौंको शान्तिनगरमा चार करोड ८५ लाखमा घर खरिद गरेका छन्। पाठकका नाममा भक्तपुरमा ८ आना जग्गा रहेको र छोरीको विवाहमा २७ लाख नगद दाइजो दिएको पनि निवेदनमा उल्लेख छ।दाहालले निवेदनमा उल्लेख गरेअनुसार पाठकले छोरीको नाममा सार्वजनिक पोखरीसहित तीन बिघा जग्गा धनुषामा नामसारी गरेका छन्।

काठमाडौंको तीनकुनेमा ५० लाख लागतमा घुस लेनदेन गर्न कार्यालय बनाइएको पनि निवेदनमा उल्लेख छ। त्यसलाई पाठकले सेफ हाउस भन्ने नाम दिएका थिए। सोही हाउसबाट उनले करोडौंँ रकम घुस असुल गरेको बताइएको छ। निवेदनमा उल्लेख गरिएअनुसार पाठकले एसियाली विकास बैंंकको लगानीमा जनकपुरमा भएको सडक निर्माणमा आफैं संलग्न भई गुणस्तरहीन निर्माण सामग्री हालेर ठेकेदारबाट पैसा लिएका थिए। उक्त विषयमा असहमति राख्ने आयोजनाको कन्सल्टेन्ट इन्जिनियर बद्री झालाई हटाएर आर्थिक लाभ लिएका थिए।

थप समाचार