नेपाली विद्यार्थीको पहिलो रोजाइको गन्तब्य अष्ट्रेलिया

प्रकाशित मिति:

नेपाली विद्यार्थीको पहिलो रोजाइको गन्तब्य अष्ट्रेलिया देखिएको छ । गत आर्थिक वर्षको तथ्यांकलाई केलाउने हो भने नेपाली विद्यार्थीको रोजाइमा जापान दोस्रोमा छ । गत आर्थिक वर्षमा ३२ हजार २ सय १२ विद्यार्थीले अष्ट्रेलिया जान मन्त्रालयबाट अनुमति लिएका छन् भने जापानका लागि १० हजार ३ सय ६६ जना विद्यार्थीले । दुबै देशले नेपाली विद्यार्थीलाई प्राथमिकतामा राखेका छन् । तुलनात्मक रुपमा सजिलो भिसा प्रक्रिया र पढ्दै निश्चित सयम काम गर्न पनि छुट भएका कारण नेपाली विद्यार्थीहरु अष्ट्रेलियार र जापान जान चाहन्छन् । अष्ट्रेलियाले नेपाली विद्यार्थीको भिसा नीतिमा सहजीकरण पनि गरिरहेको छ । आम्दानी पनि राम्रो गर्न सकिने र भिसा पनि सहजै लाग्ने भएका कारण अष्ट्रेलिया जान नसकेका धेरै विद्यार्थी जापान पुगिरहेको वैदेशिक शिक्षाका परामर्शदातृ व्यवसायी बताउँछन् । १ हजार ९४४ जना विद्यार्थीले भारतमा अध्ययनका लागि अनुमति पाएका छन् । तर, भारतमा जाने सबै विद्यार्थीले यस्तो अनुमति लिने गरेका छैनन् । परामेडिकल पढ्न जाने विद्यार्थीले छात्रवृत्तिका लागि मात्र अनुमति लिने गरेका छन् । त्यसैले यो संख्या योभन्दा निकै बढी हुनसक्ने अनुमान शिक्षा मन्त्रालयका अधिकारीहरुको छ ।