उतपादन बढाउन देवदहमा कृषि र पशुपालनको पकेट क्षेत्र निर्धारण

९ फाल्गुन २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया


कृषि र पशुपालनलाई मुख्य प्राथमिकता दिएको देवदह नगरपालिकाले कृषि पेशामा हुने लागत घटाउन तथा उत्पादन बृद्धि गर्नका लागि छुट्टा छुट्टै पकेट क्षेत्र छनौट गरी ती क्षेत्रमा लगानी बढाएको छ । नगरपालिकाले नगर सभाबाट कृषि र पशुपालनमा २ करोड रुपैंया विनियोजन गरेको थियो । त्यस्तै संघीय सरकार तथा प्रदेश सरकारले पनि देवदहमा कृषि तथा पशुपालनमा केही काम गरेका छन् । विनियोजित बजेटबाट काम गर्नेगरी आलु खेती, अर्गानिक तरकारी खेती, मत्स्य पालन तथा सानो सानो क्षेत्रमा माहुरी पालन, च्याउ खेती, केरा खेती लगायतका पकेट क्षेत्र घोषणा गरि त्यो क्षेत्रमा काम गर्ने किसानलाई बिउविजन, प्राविधिक सहयोग तथा मलखादमा ५० प्रतिशत अनुदान प्रदान गरिएको देवदह नगरपालिकाका नगरप्रमुख हिराबहादुर खत्रीले बताउनु भयो ।नगरपालिकाले पकेट क्षेत्र निर्धारणकालागि मापदण्ड निर्धारण गरेर सोही अनुसार कार्यक्रम अंगाडी बढाएको हो । एउटा पकेट क्षेत्रकालागि कम्तिमा कलस्टर मिलेको १५ विगाहा जग्गा हुनुपर्दछ । पकेट क्षेत्रमा किसानले खेती सुरु गर्दादेखि उत्पादन भित्र्याउँदासम्म प्रबिधिको प्रयोग गरेर गर्न सकिने गरी हुनु पर्नेछ । जसले प्रबिधिको प्रयोगका माध्यमबाट उत्पादन लागत घटाउन सकियोस् ।

नगरपालिकाले देवदहको वडा नं ९ घोडाहामा आलु उत्पादनको पकेट क्षेत्र घोषणा गरेको छ । त्यहाँका करिव १५० किसान आलु खेतीमा संलग्न छन् । त्यस्तै वडा नं ६ को सरनबारीलाई अर्गानिक तरकारी खेतीकालागि पकेट क्षेत्रको रुपमा छनौट गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालन गरिएको छ । त्यस्तैगरी नगरपालिकाको दक्षिणी क्षेत्र वडा नं ११ र १२ साविक सिक्टहन गाबिसलाई मत्यपालनका लागि पकेट क्षेत्रका रुपमा छनौट गरिएको छ । नगरपालिकाले आलु पकेट क्षेत्रको रुपमा छनौट गरेर किसानलाई बिउबिजन, मलखाद र प्राबिधिक सहयोग गरिरहेको घोडाहामा प्रदेश सरकारले स्मार्ट कृषि भिलेज निर्माणकालागि छनौट गरेको छ ।दुग्ध उत्पादनमा अब्बल देखिएको देवदहमा दुग्द उत्पादनमा लागत घटाउन तथा उत्पादन बृद्धि गर्न नगरसभाले गाईमा नश्ल सुधारकालागि कृतिम गर्भाधान कार्यक्रम पारित गरेको थियो । उक्त कार्यक्रम सञ्चालनकालागि ल्याव रेफ्रजरेटर लगायतका प्राबिधिक काम पुरा गरिसकिएको र उन्नत जातको गाईको एआई –आर्टिफिसियल ईन्जामिनेशन बिउ आयातकालागि टेण्डर गर्न मात्रै बाँकी रहेको नगरप्रमुख खत्रीले जानकारी दिनुभयो ।

नगरपालिकाले देवदहमा जर्सी र होलिस्टेन्ड जातको गाईको नश्ल सुधार गर्ने निर्णय समेत गरिसकको छ । अव सोही जातको गाई एआई ल्याउन टेण्डर हुने उहाँले बताउनु भयो । सामान्यतया जर्सी जातको गाईले एक वेत अर्थात एक वर्षमा ८ देखि १० हजार लिटर दुध दिन्छ भने होलिस्टेन्ड जातको गाईले १० देखि १२ हजार लिटर दुध दिन्छ । ‘यी जातको गाईको एआई गराउँदा त्यसबाट जन्मेको बाच्छीले त्यसको ठिक आधा दुध दिन्छ भन्ने छ ।’ नगरप्रमुख खत्रीले भन्नुभयो–‘त्यस्तै ९७ प्रतिशत बाच्छि नै जन्मिन्छ भन्ने पनि छ ।’नगरपालिकाले गाईमा नश्न सुधार गरि दुधको उत्पादन बृद्धि गराउने र बाच्छिको उत्पादन बृद्धिकालागि यो कार्यक्रम ल्याएको हो । उहाँका अनुसार जर्सी तथा होलिस्टेन्ड जातको गाई सिधै ल्याउँदा यहाँको वातावरण अनुकुल नहुने भएकाले यहीको गाईमा उन्नत जातको नश्ल सुधार गरि दुधको उत्पादन बढाउनकालागि नगरपालिकाले यस्तो कार्यक्रम ल्याएको हो ।त्यसैगरी देवदह नगरपालिकाले बिज बिद्धि कार्यक्रम अन्तरगत ‘बिउ प्रशोधन केन्द्र’ सञ्चालनकालागि प्रस्ताव आह्वान गरेको छ । गुणस्तरी बिउ भयो भने त्यसबाट उत्पादन पनि राम्रो हुने भएकाले बिउ प्रशोधन उद्योग सञ्चालनकालागि नगरपालिकाले सहकारी तथा कृषि समुहहरुलाई प्रस्ताव आह्वान गरेको हो । बिउ प्रशोधन उद्योग सञ्चालन हुँदा त्यसको औजारमा ५० प्रतिशत नगरपालिकाले अनुदान दिने व्यबस्था नगरपालिकाले मिलाएको छ । यद्यपी अहिलेसम्म नगरपालिकामा प्रपोजल आईनसकेको नगरप्रमुख खत्रीले बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया