इयूबाट बेलायतको बहिर्गमन को मिति छ हप्ताभन्दा कम बांकी

प्रकाशित मिति:

बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन इयू सँग भएको पछिल्लो वार्ता सकारात्मक दिशातर्फ उन्मूख रहेको बताइन्। तर उनले वार्तामा ठोस सहमति भइनसकेको पनि बताइन्। इयूबाट बेलायतको बहिर्गमन ब्रेक्जीटको मिति छ हप्ताभन्दा कम रहँदा प्रधानमन्त्री मेले युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्करसँग भेटवार्ता गरेकी छिन्। उनले आयरल्यान्ड र युरोपेली युनियनमा आबद्ध मुलुकहरुबीचको सीमा व्यवस्थाका विषयमा सहमति खोज्ने प्रयत्न गरिरहेकीछिन्। तर इयू नेताहरुले बेलायतसँग यसअघि भएको सम्झौताबाट पछि फर्कन नसक्ने बताएका छन्।बेलायत र इयूबीच कुनै औपचारिक सम्झौता बेगर नै बेलायतको बहिर्गमन पनि हुनसक्ने अनुमान गर्न थालिएका छन्। ब्रसेल्सतर्फ उड्नु केहीअघि उनकै कन्जरभेटिभ पार्टीका तीन जना सांसदले ब्रेक्जीटमा असहमति जनाउँदै राजीनामा दिएका छन्।उनीहरु सांसदहरुको नयाँ स्वतन्त्र समूहमा आबद्ध भएका छन्। बेलायतको संसदले प्रधानमन्त्री मे को ब्रेक्जीट प्रस्तावलाई यसअघि जनवरी १५ मा अस्वीकृत गरिसकेको छ। तर उनको प्रस्ताव अस्वीकृत भएसँगै प्रतिपक्षी लेबर पार्टीले प्रधानमन्त्री विरुद्ध ल्याएको अविश्वासको प्रस्ताव भने पारित भएको थिएन।