देउवा राजनीतिक संस्कार नभएको व्यक्ति: शेखर कोइराला

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई जवाफ फर्काएका छन् । बुधबार वीरगञ्जको एक कार्यक्रममा देउवाले कोइराला परिवारप्रति खरो रुपमा उत्रिएका थिए । बिहीबार कोइरालाले देउवा राजनीतिक संस्कार नभएको व्यक्ति भएको उनले बताए । ‘उहाँ हाम्रो सभापति हो । मेरो उहाँलाई सम्मान छ तर उहाँ जसरी प्रस्तुत हुनुभयो त्यो उहाँको राजनीतिक संस्कार होला । मैले आफ्नो परिवारबाट त्यस्तो संस्कार लिएको छैन,’ कोइरालाले भने, ‘महाधिवेशनमा उठ्ने अधिकार त सबैलाई हुन्छ । उहाँले रोकेर रोकिन्न ।’

उनले पार्टी कमजोर भयो भन्दा कारबाही गर्छु भन्ने हो भने देउवाले आफैंलाई कारबाही सुरू गर्नुपर्ने बताए । ‘हामीलाई किन कारबाही गर्ने भन्नुभएको हो मैले बुझेको छैन, संस्कार भएका मानिसहरूलाई कारबाही गर्ने संस्कार नभएकाहरूलाई छुट दिने कांग्रेस कता जान्छ ? म राजनीतिक संस्कारमा हुर्केको मान्छे हो,’ कोइरालाले भने । देउवाले पार्टी कसैको बपौती नभएको उल्लेख गर्दै कोइराला थर हुँदैमा पार्टी सभापति बन्न नपाइने बताएका थिए । नेताहरूले जथाभावी बोल्दै हिँडेकाले उनीहरूमाथि अनुशासनको कारबाही गर्ने देउवाको कथन थियो ।

‘थर कोइराला छ भन्दैमा कांग्रेस पार्टीको सभापति बन्न पाउनैपर्छ भनेर भन्न पाइन्छ,’ बुधबार कार्यकर्तालाई सम्बोधन गर्दै देउवाले भनेका थिए, ‘कोइराला थर हुँदैमा सभापति नै बन्न पाउनुपर्छ भन्ने तर्क नाजायज हो ।’ बीपी र गिरिजाप्रसाद कोइरालाको योगदान भए पनि उनका छोरारभतिजाको पार्टीमा कुनै योगदान नरहेको दाबी देउवाको थियो  ‘मण्डलेहरूले मेरो टाउको फुटाउँदा, म जेल बस्दा शेखर कोइराला कहाँ थिए ?’ उनले प्रश्न गरे, ‘कुनै योगदान नै नगर्ने अनि अहिले कोइराला थर भयो भन्दैमा पार्टी सभापति बन्नुपर्ने ।’