जिल्लास्तरीय सुपरलिग, स्टार क्रिकेट क्लब विजयी

प्रकाशित मिति:

रुपन्देही /भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम जिल्लास्तरीय सुपरलिग क्रिकेट प्रतियोगितामा बिहीबार भएको डिभिजन ‘बी’अन्तर्गतको खेलमा बुटवल राइनोज क्रिकेट क्लब, बुटवललाई ४ विकेटले पारजित गर्दै स्टार क्रिकेट क्लब, ओमसतिया विजयी भएको छ ।

बुटवलबाट जितका लागि पाएको १९१ रनको लक्ष्य स्टारले ४२ ओभर ५ बलमा ६ विकेट गुमाई १९२ रन बनाउँदै भेट्टाई जित निकाल्यो । उसको जितमा विशाल सुनारले नटआउट ४६ रनको योगदान दिए । यस्तै, शक्ति गौचनले नटआउट ३०, प्रदीप शाहनीले ३४ र रुपेश बश्यालले २१ रन बनाए । बलिङमा बुटवलका सञ्जु बोहराले २ तथा प्रदीप बेल्बासे र अश्विन हमालले समान १÷१ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बुटवलले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाई १९० रनको योगफल तयार गरेको थियो । उसका लागि सञ्जु बोहराले ५९, सिमान्त साहीले ३१ र अरविन्द सारुले २७ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा स्टारका शक्ति गौचनले ५, रुपेश बश्यालले ३ तथा ऋषि रानाले १ विकेट लिए । खेलमा स्टारका शक्ति गौचन म्यान अफ द म्याच घोषित भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।

शुक्रबार डिभिजन ‘बी’अन्तर्गत नै रहेका लुम्बिनी कासाई क्रिकेट क्लब, लुम्बिनी र दीप क्रिकेट क्लब, बुटवलबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले नगद ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

लिगमा ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टीम सहभागी छन् । प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको छ भने विके ज्वेलर्स, सगरमाथा स्न्स्योरेन्स, सुगम आवास र ह्याप्पी आवर ग्यामिङ क्लब भैरहवाले सहप्रायोजन गरेका छन् । यस्तै, प्रत्येक दिनको म्यान अफ द म्याचलाई रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले प्रायोजन गरेको छ । लिग चैत ६ गतेसम्म चल्ने छ ।