कान्तिका डा. खनालको बिहे खर्च क्यान्सर पीडित बालबालिकालाई

प्रकाशित मिति:

बुटवल । कान्ति बाल अस्पतालमा बाल रोग विशेषज्ञ  एमडी अध्ययनरत डा. श्रीधर खनालले आफ्नो विहे खर्च क्यान्सर पीडित बालबालिकाहरुको उपचारार्थ अस्तित्व फाउण्डेसनलाई हस्तान्तरण गरेका छन् । नेपाली संस्कृति र परम्परा खर्चिलो र भड्किलो हुँदै गएको सन्दर्भमा पाल्पा स्थित कुसुमखोला निवासी डा. खनालले आफ्नो विवाहमा लाग्ने अनुमानित खर्च ४ लाख फाउन्डेशनलाई हस्तान्तरण गरेका हुन् । बुटवलमा भएको विवाह समारोहमा कुनै तामझाम देखिएन, दुलाहा र दुलहीको गलामा खर्चिलो गहना देखिएन र होटल वा पार्टी प्यालेसमा लाखौं रुपैयाँ खर्च गरेर पार्टी पनि गरिएन । दुलाहा डाक्टर खनाल भन्छन्  स्वयम्बर गर्दा दुलहीलाई कुशको औंठी लगाइदिएँ । बुटवल निवासी दुलही कमला ज्ञवाली व्याचलर इन पब्लिक हेल्थ अध्ययनरत छिन् । उन्ले पनि क्यान्सर पीडित बालबालिकाहरुको मर्म र पीडा बुझेका कारणले यो निर्णय लिन सहज भएको डा खनालको भनाई छ ।  डाक्टर खनाल भन्छन् – दुलही पक्षबाट जन्तीलाई सादा टीका मात्र लगाइदिए, ढोगभेटमा कुनै सामान आदानप्रदान गरिएन ।’ यस्तो विहे गराउन पाएकोमा घर र माइती दुबै पक्ष खुशी छन् । फाउन्डेशनले क्यान्सर पीडित बालबालिकाको उपचार र शिक्षा तथा लालनपालनमा रकम खर्च गर्दै आएको थाहा पाएपछि विहेमा दुलाहा  भेनाजु को जुत्ता लुकाएर उठाएको २ हजार रकम पनि सालीहरुले सोही कोषलाई सहयोग स्वरुप हस्तान्तरण गरेका छन् । फाउण्डेशनमा आवद्ध अन्य सदस्यहरुले पनि विहे, ब्रतबन्ध, चाडपर्व, बार्षिकोत्सव जस्ता उत्सवमा हुने खर्चलाई कटौती गरी फाउण्डेसन सहयोग गर्दै आएका छन् ।