इन्द्रेणिले अब बचतसँगै बहुउद्देश्यीय कार्य गर्ने

प्रकाशित मिति:

झविन्द्र देवकोटा / बुटवल – बुटवल सुख्खानगरमा रहेको ईन्द्रेणि बहुउद्देश्यीय सहकारी संस्थाले बहुउद्देश्य कार्य गर्ने भएको छ । विगतमा बचत तथा ऋण लगायतका कार्यक्रम गर्दै आएको सहकारीले अव कृषि तथा कृषिजन्य उत्पादन, नर्सरी, सेवा कार्यालय विस्तार, लघुवित्त कार्यक्षेत्रसँगै रेमिटान्सका कार्यक्रमलाई प्रभावकारी तरिकाले अगाडि बढाउने भएको हो । सहकारीले आफ्नो उद्देश्य अनुसार बचत मात्र नभई शेयर सदस्यका लागि आयआर्जनसँग जोडिने र उनीहरुलाई अब्यस्त बनाउने कार्यक्रम ल्याउन लागेको छ ।

सहकारीले सहकारीमा संकलन भएको पुँजीलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने योजनाका साथमा उद्देश्य अनुसारको कार्य गर्न थालेको अध्यक्ष मित्रबहादुर शाक्यले बताउनुभयो । सहकारीको रुपन्देहीको छपियामा शनिबार बसेको संयुक्त बैठकले सहकारीले आफै नर्सरी संचालन गर्ने, सेवा कार्यालयहरुलाई विस्तार तथा प्रभावकारी बनाउनेसँगै लघुवित्त र लघुउद्यमलाई विस्तारसँगै प्रभावकारी बनाउने खाका तयार गरेको अध्यक्ष शाक्यले जानकारी दिनुभयो । संयुक्त बैठकमा संरक्षक बाबुराम राना, भुपालकुमार श्रेष्ठ, उपाध्यक्ष धुर्वकुमार धिताल, मुल्यांकन समिति संयोजक उदयराज भण्डारी, लेखा संयोजक सुरेन्द्र मुनि शाक्य, सचिव नेत्रलाल अर्याल लगायतले सहकारीले बचत मात्र नभएर अव उत्पादन मुलक क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

सो अवसरमा संस्थाको शेयरपुँजी ५ करोड १४ लाख ४० हजार, संस्थाको कोष १ करोड ५५ लाख १२ हजार र निक्षेप २८ करोड ८५ लाख ३ हजार रहेको कोषाध्यक्ष दलबहादुर थापाले बताउनुभयो । यसैबीच संस्थाले चैत ९ गते आफ्नो स्थापना दिवस मनाउने भएको छ । स्थापना दिवसमा विभिन्न सप्ताहब्यापी रचनात्मक कार्यक्रम गरेर स्थापना दिवस मनाउने भएको संस्थाले जनाएको छ ।