गत आर्थिक वर्ष ०७४÷०७५ मा भैरहवा भन्सार कार्यालय बेलैहियामा ७० अर्ब ८ करोड २४ लाख रुपैया राजश्व संकलन

प्रकाशित मिति:

भैरहवा भन्सार कार्यालय बेलहियाले गत आर्थिक वर्ष ०७४÷०७५ मा ७० अर्ब ८ करोड २४ लाख रुपैया राजश्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्षको पहिलो साउन महिनामा ५ अर्ब २१ करोड ११ लाख, भदौमा ६ अर्ब १४ करोड १४ लाख, असोजमा ६ अर्ब ४३ करोड, कार्तिकमा ५ अर्ब ३० करोड ६१ लाख, मंसिरमा ४ अर्ब ९७ करोड र पुसमा ४ अर्ब ९८ करोड २१ लाख राजश्व संकलन गरेको छ । त्यस्तै माघमा ५ अर्ब २६ करोड तथा फागुन ५ अर्ब ४५ करोड,चैत ६ अर्ब २२ करोड, बैशाखमा ६ अर्ब १२ करोड, जेठमा ७ अर्ब ३१ करोड र असारमा ६ अर्ब ६५ करोड राजश्व संकलन गरेको छ ।
संकलित राजश्व अघिल्लो आर्थिक वर्ष ०७३÷०७४ को भन्दा ७ अर्व ७५ करोड ५९ लाख बढी भएपनि कार्यालयले लिएको लक्ष्य भन्दा न्युन हो । कार्यालयलाई भन्सार बिभागले ८१ अर्ब ४३ करोड ७७ लाख राजश्व लक्ष्य तोकेको थियो । यस कार्यालयले आर्थिक वर्ष ०७३÷०७४ मा ५७ अर्ब ३४ करोड ४० लाख लक्ष्य पाउदा ६२ अर्ब ३२ करोड ६५ लाख राजश्व संकलन गरेको थियो ।
विभागले चालु आर्थिक वर्ष ०७५÷०७६ का लागि ९३ अर्ब ९५ करोड ९८ लाख लक्ष्य तोकेको छ ।
आर्थिक वर्ष ०७३÷०७४ मा भारतको अघोषित नाकाबन्दी र तराई मधेश आन्दोलन हुदा वीरगंज लगायतका पुर्वी नाकाहरुबाट आयात हुने सामानहरु बेलहियाबाट आयात भएका थिए । जसले गर्दा राजश्व लक्ष्य भन्दा बढेको थियो । त्यसैलाई आधार मानेर बिभागले लक्ष्य तोकेको तर त्यस समयमा यस नाकाबाट आयात भएका सवारी साधन र औद्योगिक कच्चा पदार्थ पुरानै नाकाबाट आयात हुन लागेकाले लक्ष्यमा पुग्न नसकेको कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले जानकारी दिनुभयो ।
पौडेलले भन्नुभयो ‘हामीले लक्ष्य भेट्टाउन कोशिस गरेका हौं तर अघिल्लो वर्ष आयात हुँदै आएका केही महत्वपूर्ण वस्तुहरुमा गिरावट आउँदा असुली पुरा गर्न सकिएन’, उनले भने– ‘राजश्व संकलनका मुख्य वस्तु जिप, कार, भ्यान र क्लिङ्कर जस्ता सामानहरु आयात नै घट्दै गयो ।’