स्वायत्तताका नाममा स्वच्छन्दता बढ्यो :नायव महालेखा परिक्षक पुडासैनी

प्रकाशित मिति:

बुटवल, ११ फागुन । नायव महालेखा परिक्षक दामोदर पुडासैनीले स्थानिय तहमा स्वायत्तताका नाममा स्वच्छन्दताको प्रयोग बृद्धि भएको भन्दै चिन्ता ब्यक्त गर्नु भएको छ । आफुखुशी निर्णय गर्ने, आफुखुशी कार्यान्वयन गर्ने प्रबृति बढेसँगै स्वायत्तताका नाममा स्वच्छन्दता बढेको र स्वच्छन्दताका नाममा अनियमितता बढेको भन्दै उहाँले मितब्ययी, जवाफदेही र पारदर्शी बन्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भयो । उहाँले बन्नु भयो –” मुलुकका ७ सय ५३ वटै तहमा लेखापरिक्षण गर्दा समस्या एउटै देखियो, बेरुजु घातक हुन सक्छ ख्याल राख्नु होला” ।

महालेखा परिक्षकको कार्यालय काठमाडौंको आयोजनामा बुटवलमा सम्पन्न कार्यगत लेखा परिक्षणमा नागरिक सहभागिता बिषयक दुईदिने कार्यशाला गोष्ठीमा सहभागिहरुलाई सहजिकरण गर्दै नायव महालेखा परिक्षक पुडासैनीले सुचनाको हक स्थापित गर्ने तथा मितब्ययी, पारदर्शी र जवाफदेही बन्न सके अनियमितता र बेरुजु न्यूनिकरणमा टेवा पुग्ने बिश्वास ब्यक्त गर्नु भयो । सार्वजनिक स्थलमा गरिने कार्यस्थल लेखा परिक्षणमा नागरिकहरुको सहभागिता बढाउन सकेमा सुशासन कायम हुने बिश्वास ब्यक्त गर्दै उहाँले शिक्षा, स्वास्थ्य, सडक जस्ता सामाजिक सेवा र भौतिक पुर्वाधार बिकास निर्माणका क्षेत्रमा हुने गरेको ब्यापक अनियमितता र बेरुजुलाई अन्त्य गर्न सुचनाको हकलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

सार्वजनिक स्थानमा हुने जुनसुकै गतिबिधीबारे नागरिकमा सुचनाको पहुँच पुराउन तथा अध्ययन अनुसन्धान गरि सम्बन्धीत निकायको ध्यानाकर्षण गराई शुसाशन कायम गर्ने उद्देश्यका साथ संचालित सो कार्यशाला गोष्ठीका सहभागि जनप्रतिनिधी, कर्मचारी, सामाजिक अभियन्ता र पत्रकारहरुले सुचनाको हकबाट आम नागरिक लगाएत सबै बन्चित हुनुपरेको गुनासो समेत गरेका छन । सो अवसरमा बुटवल उपमहानगरपालीकाका मेयर शिवराज सुबेदी, सिद्धार्थनगर नगरपालीकाका मेयर हरि अधिकारी, देवदह नगरपालीकाका मेयर हिरा केसी, बुटवल उपमहानगरपालीकाका उपमेयर गुमादेवी आचार्य, सिद्धार्थनगरका उपमेयर उमादेवी काफ्ले, तिलोत्तमा नगरपालीकाका उपप्रमुख जागेश्वरी चौधरी, रामग्राम नगरपालीकाका मेयर नरेन्द्र कुमार गुप्ता, उपमेयर रम्भा कुँवर लगाएतले भ्रष्टाचार र अनियमिताको अन्त्य गरि शुसाशन र पारदर्शिता कायम गर्न स्थलगत लेखा परिक्षणमा नागरिक सहभागिता बढाउनु पर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा रुपन्देही, नवलपरासी, कपिलबस्तु र पाल्पाका जनप्रतिनिधी, कर्मचारी, नागरिक समाज, पत्रकार र सामाजिक अभियान्ता गरि ४० जनाको सहभागिता रहेको थियो ।