विषाक्त मदिरा सेवनबाट भारतमा मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी

१२ फाल्गुन २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया


भारतको पूर्वी–उत्तर राज्य असममा विषाक्त मदिरा सेवन गर्दा ज्यान जानेको सङ्ख्या १०० भन्दा माथि पुगेको अधिकारीहरूले बताएका छन् । दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि एउटा अस्पतालमा भर्ना गरिएको छ । विरामीमध्ये महिलाहरू पनि छन् । उनीहरू सबै आसामको चिया बगानमा काम गर्ने मानिसहरू हुन् ।स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सक्ने बताइएको छ । दुई हप्ताअघि अरू दुई राज्य उत्तर प्रदेश र उत्तराखण्डमा पनि विषाक्त मदिराका कारण झण्डै एक सय जनाको मृत्यु भएको थियो ।

असमको गोलाघाट र जोरहाट जिल्लामा भएका बगानमा काम गर्ने मानिसहरूले विषाक्त मदिरा सेवन गर्न पुगेका थिए । गोलाघाटका प्रमुख प्रशासक धिरेन हजारिकाले त्यस्तो मदिरा सेवन गर्नेहरूमध्ये पहिलो व्यक्तिको मृत्यु बिहीवार भएको जनाइएको छ ।गोलाघाट जिल्लामा मात्रै ५८ जनाको मृत्यु भएको प्रहरी अधिकारी पुष्कर सिंहले बताउनुभयो । अर्को स्रोतका अनुसार १२ जनाको मृत्यु जोरहाट जिल्लामा भएको छ । गोलाघाट स्वास्थ्य विभागका सहनिर्देशक डा। रतुल बोरदोलोईका अनुसार पीडितहरू बान्ता गर्दै र छाती दुख्ने एवम् सास फेर्न गाह्रो हुने गम्भीर समस्यासहित अस्पताल पुगेका थिए ।

गोलाघाट अस्पतालमा उपचार गराइरहेका एक व्यक्तिका अनुसार उनी बिहीवार चिया बगानमा थिए ।अधिकारीहरूका अनुसार यो घटनाको छानिबिन गर्न एउटा समिति बनाइएको छ राज्य प्रहरीका अनुसार उनीहरूले एक जनालाई अवैध मदिरा बेचेको आरोपमा समातेको छ । त्यस्तो मदिरा बिक्रीवितरण रोक्न नसकेको भन्दै दुईजना अधिकारीहरूलाई पनि निलम्बन गरिएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया