सानेपा तनावग्रस्त : काँग्रेस कार्यकर्ताबीच ढुङ्गा हानाहान भएपछि प्रहरीद्वारा लाठीचार्ज

प्रकाशित मिति:

काठमाडौँ – नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघका दुई समूहबीचको विवादले झडपको स्थिति निम्तिएको छ ।
नेविसंघभित्रको विवादले चर्को रुप लिएसँगै आइतबार पार्टी कार्यालय सानेपा सिटौला समूह र संस्थापन समूहबीच ढुंगा हानाहान भएको हो । स्थिति तनावपूर्ण भएपछि प्रहरीले लाठीचार्ज गर्नुपरेको छ । पार्टी कार्यालयभित्र विद्यार्थी नेताहरुलाई प्रवेश निषेध गरिएको छ । संस्थापन पक्षका विद्यार्थीहरु नेविसंघमा ३२ वर्षे उमेरहद ल्याउन नहुने पक्षमा छन् भने सिटौला समूह त्यसको विपरीत रहेको छ ।

संस्थापन समूहभित्रका सहमहामन्त्री प्रकाशशरण महतनिकट मानिने ऋषिकेषजंग शाहलगायत विद्यार्थी नेताले फागुन ९ गते पार्टी कार्यालयभित्र पार्टी उपसभाति विमलेन्द्र निधि र नेता प्रकाशमानसिंह कार्यालय जाँदा सिटौला समूहका विद्यार्थीले रोकेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ । शाहलगायत विद्यार्थी समूहले अनुशासन कायम हुनुपर्ने माग गर्दै नाराबाजी गरेका छन् । विद्यार्थी नेता समूह शाह समूह तदर्थ समिति बनाउँदा ३२ वर्षे उमेर हद ल्याउनैपर्ने अडानमा छ ।

आफूले भनेअनुसार नभए र सोहीअनुसार विधान कार्यान्वयन नभए समानान्तर तदर्थ समिति बनाउने सिटौला समूहका विद्यार्थी नेता निरञ्जन थापाले चेतावनी दिएका छन् । नेविसंघको कार्यालय गएको माघमा सकिएको छ । कार्यकालभित्र निर्वाचन हुन नसकेपछि अध्यक्ष नैनसिंह महरले राजीनामा दिइसकेका छन् । काँग्रेसको जारी केन्द्रीय समिति बैठकले नेविसंघको तदर्थ समिति बनाउने तयारी गरेको छ ।