तिलोत्तमा गोल्डकप उपाधि : पुलिस र दाउफिन्समा कसले मार्ला बाजी ?

प्रकाशित मिति:

बुटवल  – बुटवलमा भैरहेको २१ औ तिलोत्तमा गोल्डकप फुटबलको उपाधि भिडन्त साेमबार हुँदैछ । दिउँसो २ बजेपछि एन्फा एकेडेमी बुटवल देवीनगरको खेल मैदानमा नेपाल पुलिस क्लबले गोल्डकपको उपाधिका लागि दाउफिन्स क्यामरुनको सामना गर्नेछ । मनकामना केबल कार पोखरा कप र रेडबुल बुढासुब्बा गोल्डकपको उपाधि जितेको दाउफिन्सले तिलोत्तमा गोल्डकप जित्दै उपाधिमा ह्याट्रिक गर्ने दाउमा छ । सबैभन्दा ठूलो पुरस्कार राशीको खप्तड कप जितेको पुलिस क्लबले तिलोत्तमा गोल्डकप पाँचौ पटक उचाल्ने लक्ष्यमा छ । झापालाई ५–० ले हराएको दाउफिन्सले रुपन्देहीलाई २ – ० ले हराएको थियो । उसले प्रतियोगितामा गोल खाएको छैन । पुलिसले प्रतियोगितामा ५ गोल गरेको छ भने १ गोल मात्रै खाएको छ । दार्जीलिङ भारतलाई २–० ले क्वार्टरफाइनलमा हराएको पुलिसले सेमिफाइनलमा च्यासललाई २–१ ले हराएको थियो ।

रुपन्देही ११ लाई हराएर दाउफिन्स र च्यासल युथ क्लबलाई हराएर नेपाल पुलिस क्लबले उपाधि नजिक आफूहरुलाई उभ्याएका हुन् । विजेताले ८ लाख ८० हजार नगदसहित गोल्डकप प्राप्त गर्ने छ ।  उपविजेताले ५ लाख ५० हजार नगद प्राप्त गर्ने आयोजक रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिनुभयो । विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई २५ हजार नगद प्राप्त गरिनेछ भने उत्कृष्ट खेलाडीले स्कुटी पुरस्कार पाउनेछ ।